ताजा समाचार

प्रदेश नम्बर २ र ६ मा एमाले र माओवादीले आधा–आधा सिट पाउने, कसरी हुँदैछ व्यवस्थापन ?

काठमाडौं, २६ असोज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ र ६ नम्बर प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले आधा आधा सिट पाउने भएका छन् । एमाले माओवादीबीच गठबन्धनको कार्यदलमा प्रदेश नम्बर २ र प्रदेश नम्बर ६ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बराबरी हुनेगरी सिट संख्या बाँडफाँट गर्ने प्रारम्भिक सहमति भएको हो ।

प्रारम्भिक सहमति अनुसार प्रदेश २ मा एमालेले १६ र माओवादीले १६ सिट तथा प्रदेश ६ मा एमालेले ६ र माओवादी केन्द्रले ६ सिट पाउने छन् । प्रदेश २ र ६ सहित अन्य प्रदेशका बारेमा निर्णय लिन आज संयुक्त कार्यदलको बैठक बस्दैछ ।

‘प्रदेश नम्बर २ मा एमाले र माओवादीबीच बराबर हुनेगरी प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र भागबन्डा गर्ने सहमति भइसकेको छ,’ माओवादी नेता भरत साहले भने, ‘जसअनुसार प्रदेश नम्बर २ मा एमालेले १६ र माओवादीले १६ वटा सिट पाउने छ । त्यसका लागि कुनकुन निर्वाचन क्षेत्र भन्ने विषयमा कार्यदलको बैठकले अन्तिम टुंगो लगाउनेछ ।

‘प्रदेश २ बाट प्रतिनिधिसभाका कम्तीमा १५ वटा सिट जित्ने उद्देश्यसहित भागबन्डा गरिँदैछ,’ स्रोतले भन्यो ।जसअनुसार सप्तरी, वारा र पर्सामा एमालेले बढी क्षेत्र पाउने छ भने माओवादीले सिरहामा बढी क्षेत्र पाउने छ । ६४ वटा प्रदेशसभा सदस्यको हकमा एमालेले जितेका स्थानीय तह रहेका प्रदेशमा एमालेले नै प्राथमिकता पाउने छ भने माओवादीको हकमा पनि यही नीति लागू हुनेछ ।

प्रदेश नम्बर ६ बाट प्रतिनिधिसभामा १२ सदस्य निर्वाचित हुनेछन् । त्यसमध्ये एमालेलाई ६ र माओवादीलाई ६ वटा बाँटफाँट गर्ने प्रारम्भिक सहमति जुटेको छ । तर, ६ नम्बर प्रदेशसभाका बारेमा भने सहमति हुन सकेको छैन ।

एमालेको भागमा दैलेखका २ वटा निर्वाचन क्षेत्रसहित मुगु, डोल्पा र सुर्खेत–१ परेको छ भने माओवादी केन्द्रलाई जाजरकोट, रुकुम, सल्यान, कालिकोट, जुम्ला परेको छ । तर, सुर्खेत–२ र हुम्ला कसलाई दिने÷लिने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन ।

प्रदेश नम्बर १ मा माओवादीलाई प्रतिनिधिसभाका लागि ५ सिट दिइने प्रस्ताव एमालेबाट गएको छ । प्रदेश ४ मा माओवादीलाई अन्य प्रदेशमा भन्दा बढी सिट दिने विषयमा मोटामोटी सहमति भएको छ । तर, प्रदेश नम्बर ३ मा सिट बाँडफाँटमा सबैभन्दा बढी जटिलता देखिएको छ ।

एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत सिट पाउने सहमतिअनुसार निर्वाचन क्षेत्र भागबन्डा गरिँदैछ । कार्यदललाई असोज २२ गते नै बाँडफाँट टुंग्याउनुपर्ने निर्देशन भए पनि दुवै दलले आन्तरिक तयारी पूरा नगर्दा बुधबारसम्म पनि टुंगिन सकेको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org