ताजा समाचार

करेन्ट लागेर बारी जोत्दै गरेकी एक महिलाको मृत्यु, श्रीमान घाइते

सल्यान, २६ असोज । करेन्ट लागेर सल्यानमा एक महिलाको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ खातीगाँउमा बिहीबार बिहान बाँझो बारी जोत्दै गर्दा करेन्ट लागेर ५० वर्षीय मंगली कुमारी वलीको ज्यान गएको हो । करेन्ट लागेर उनका श्रीमान ज्ञान बहादुर वली घाइते भएका छन् । यस्तै जोत्दै गरेको एउटा गोरु समेत मरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

‘ज्ञान बहादुर वली गोरु लिएर वर्षेबाली रोपेको बाँझो बारी जोत्न बिहान बारीमा जानु भएको रहेछ, बारीको बिचमा बिजुलीको फलामको पोल गाडिएको रहिछ, बारी अलि ओसिलो रहेछ, जोत्दै जाँदा उहाँलाई करेन्टको झट्का लागेर बारीको डिलमा फालेछ’ प्रहरीले भने ।

श्रीमानलाई करेन्टको झट्का लागेको देखेर श्रीमानलाई के भयो भनेर श्रीमान कहाँ जान लागे कि उनकी श्रीमती मंगलीलाई करेन्ट लागेर बारीमा नै टाँसिएर मृत्यु भयो । बिजुलीको फलामको पोलमा राखिएको डि आइरन इन्सुलेटरबाट तार चुँडिएर पोलमा जोडिएको त्यो जमिन चिसो भएपछि पोलबाट करेन्ट बगेर जमिनमा छोएका कारण करेन्ट लागेको प्रहरी स्रोतको अनुमान छ ।

मृतकका श्रीमानले चप्पल लगाएका कारण बाँच्न सफल भएको तर श्रीमती खाली खुट्टामा नै भएकाले करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ज्ञानको बहादुरको अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org