ताजा समाचार

नेपालीको गोप्य विवरण भारत पुयाउने कम्पनीलाई नै फेरि लाइसेन्स छाप्ने जिम्मा

काठमाडौं, ३० असोज । स्मार्ट लाइसेन्स छाप्ने जिम्मा फेरि भारतीय कम्पनीलाई दिईएको छ । यातायात व्यवस्था विभागले गरेको ग्लोबल टेन्डरमा कम मूल्यमा आपूर्ति दिनेगरी भारतीय कम्पनी मद्रास सेक्युरेटी प्रिन्टर्सले छाप्ने जिम्मा पाएको हो । मद्रासले अब सात लाख ५० हजार स्मार्ट लाइसेन्स आपूर्ति गर्नुपर्ने हुन्छ । मद्रासले विभागलाई अहिलेसम्म स्मार्ट लाइसेन्सको कार्ड आपूर्ति गर्दै आएको छ ।

यातायात व्यवस्था विभागले गरेको ग्लोबल टेन्डरमा कम मूल्यमा आपूर्ति दिनेगरी मद्रासले नै प्रस्ताव गरेपछि सोमबार कम्पनीसँग ठेक्का सम्झौता गर्न लागिएको महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । तीन वटा लाइसेन्सको प्रिन्टिङ मेसिन आपूर्तिको ठेक्का उक्त कम्पनीले नौ लाख ८० हजार डलरमा पाएको हो । भारतको चेन्नइमा मुख्य कार्यालय रहेको मद्रास प्रिन्टर्सले नै स्मार्ट लाइसेन्स प्रणाली तयार पारेको हो ।

सोही कम्पनीमार्फत् स्मार्ट लाइसेन्सका लागि नागरिकसँग लिइएको विवरण भारत पुगेको ठहर गर्दै सर्वोच्च अदालतले त्यस्तो नहुने गरी व्यवस्थापन गर्न सरकारलाई आदेश दिएको थियो । तर, टेन्डरमा कम मूल्य कबोल गरेर फेरि लाइसेन्स छपाइको जिम्मा उसैले पाउन लागेको हो ।

मद्रासले एउटा कार्ड शुन्य दशमलव ९७ अमेरिकी डलर अर्थात् करिब सय रुपैयाँमा उपलब्ध गराउने गरी टेन्डर हालेको छ । यस्तै, एउटा प्रिन्टिङ मेसिन ७५ हजार अमेरिकी डलरमा उपलब्ध गराउने उक्त कम्पनीको प्रस्ताव छ । टेन्डरमा सहभागी दुई युरोपेली र एक अमेरिकी कम्पनीको प्रस्तावित मूल्य त्यसभन्दा बढी छ । हालका प्रिन्टिङ मेसिनमा बारम्बार प्राविधिक समस्या आएपछि तीन वटा थप्न लागिएको हो । मद्रासले दुई महिनाभित्र साढे तीन लाख कार्ड उपलब्ध गराउने महानिर्देशक भट्टराईले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org