ताजा समाचार

एमालेबाट चुनाव लड्न लागेका दीपक मनाङ्गेद्धारा एक व्यक्तिको अपहरण

काठमाडौं, १ कात्तिक । ‘गुन्डानाइके’ दीपक मनाङ्गेमाथि अपहरण गरेको उजुरी परेको छ । मनाङ्गे समूहले मनाङबाट एक जना व्यवसायीको अपहरण गरेको भन्दै प्रहरीमा उजुरी परेको हो । गत शनिबार राती ११ बजे मेथास्थित एक होटलमा बास बसेका ४ जनामध्ये नार फु गाउँपालिकाका कर्मा लाक्पा लामाको अपहरण गरेको प्रहरीमा दिईएको जाहेरीमा उल्लेख गरिएको छ ।

होटलमा सँगै बास बसेका अन्य ३ जना लोप्साङ फुम्जो, धोर्जे लामा, गणेश घले र टासी लामा भागेका थिए। कर्मा लाक्पा लामा र टासि लामासँग रहेको १० लाख रुपैयाँ मनाङ्गे समूहका युवाहरूले लिएका थिए।

मनाङमा होटल खोल्न भन्दै उनीहरू काठमाडौंबाट सोही दिन त्यहाँ पुगेका थिए। कर्मा लाक्पालाई मेथाबाट रातभर हिडाएर उनीहरूले नार लगेका थिए। घटनाको भोलिपल्ट कर्मा लाम्पा अपहरणमा परेको खल्लीखल्ली भएपछि मनाङ्गे आफैँ नार पुगेर १० लाख रुपैयाँ र कर्मालाई प्रहरी चौकीमा बुझाएका थिए ।

अपहरणमा परेका कर्माले आफूलाई दीपक मनाङ्गे समूहले अपहरण गरेर रातभर नियन्त्रणमा लिइ थप रकम मागेको भन्दै चामेस्थित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । लुटेको रकम नारमा प्रहरीले किन बुझ्यो, कर्मा लाक्पाले भने, यसमा प्रहरीको पनि मिलेमतो देखिन आएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरबहादुर पुलामीले यस विषयमा थप अनुसन्धान भइरहेको बताए ।केहीदिनअघि एमाले प्रवेश गरेका मनाङ्गे निर्वाचनमा उठ्ने तयारीमा छन्। अहिले उनी मनाङका विभिन्न स्थानमा पुगेर मत माग्ने काम गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org