ताजा समाचार

काँग्रेसका कुन शीर्ष नेताले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने ?

काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसले शीर्षनेताहरुले लड्ने निर्वाचन क्षेत्र टुंगो लगाएको छ । काँग्रेसले पार्टी सभापति शेरबहादुर, वरिष्ट नेता देउवा रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका शीर्ष नेताहरुले लड्ने निर्वाचन क्षेत्रको टुंगो लगाएको हो । काँग्रेस संसदीय समिति बैंठकले पार्टी सभापति देउवालाई डडेलधुराबाटै चुनाव लड्ने गरी टुंग्याएको छ ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट र महामन्त्री शशांक कोइराला नवलपुर १ बाट चुनाव लड्ने टुंगो कांग्रेसले लगाएको हो । यसैगरी प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्नेछन् । सिंह यसअघिका निर्वाचनबाट पनि काठमाडौं १ बाटै निर्वाचित भएका थिए ।

काठमाडौं २ बाट दीपक कुइँकेल, काठमाडौं ३ बाट अम्बिका बस्नेत र काठमाडौं ४ बाट गगन थापा चुनाव लड्ने निश्चित भएको कांग्रेसले जनाएको छ । गगन थापा दोस्रो संविधानसभा निर्वाचनमा पनि काठमाडौं ४ बाटै विजयी भएका थिए ।

काठमाडौं ५ बाट प्रकाशशरण महत, काठमाडौं ८ बाट नवीन्द्रराज जोशी, ९ बाट ध्यानगोविन्द रञ्जित र काठमाडौं १० बाट राजेन्द्र केसी चुनाव लड्नेछन् । केसीले दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० मा माओवादी अध्यक्ष प्रचण्डलाई हराएका थिए ।

कांग्रेसले जिल्लाबाट आएको सिफारिसको आधारमा उम्मेदवार छनोट गर्न २२ सदस्यीय समिति बनाएको थियो । सोही समितिले अहिले पनि छलफल गरिरहेको छ । समितिले पहिलो चरणमा शीर्ष नेताहरुको निर्वाचन क्षेत्र टुंगो लगाएको कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org