ताजा समाचार

दलहरुलाई उम्मेदवारको टुंगो लगाउन सकस, प्रमुख दलले आज बेलुकीसम्म टुंगो लगाउने

काठमाडौैं, २ कात्तिक । उम्मेदवारको टुंगो लगाउन दलहरु आन्तरिक छलफलमा व्यस्त छन् । आउँदो मंसिर १० र २१ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधिसभा चुनावको लागि उम्मेदवार छनोट गर्ने देखि लिएर चुनावी रणनीति बनाउने गृहकार्यमा दलहरु व्यस्त छन् । बिहीबार बेलुकीसम्ममा उम्मेदवारको अन्तिम टुंगो लगाउने गरी दलहरुले बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् ।

बिहीबार बेलुकीसम्ममा उम्मेदवारको टुंगो लगाउन गरी नेपाली कांग्रेस आन्तरिक छलफलमा व्यस्त छ । ३२ मध्ये सात जिल्लामा मंगलबार नै उम्मेदवार टुंग्याएको कांग्रेसले बाँकी २५ जिल्लामा उम्मेदवार टुंग्याउन बाँकी छ । उसले सबै जिल्लामा बिहीबार बेलुकीसम्ममा उम्मेदवारको टुंगो लगाएपछि मात्रै नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

यस्तै उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेको स्थायी कमिटिको बैठक बस्दैछ । यसैगरी माओवादी केन्द्रले पनि आन्तरिक छलफल गरी उम्मेदवारको टुंगो लगाउन लागेको प्रवक्ता पम्फा भूषालले जानकारी दिईन् । अरु दल पनि चुनावी रणनीति बनाउन आन्तरिक छलफलमा छन् । पहिलो चरणमा हिमाल र पहाडका ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते र दोस्रो चरणमा ४५ जिल्लामा प्रदेश र प्रतिनिधि सभा चुनाव हुँदैछ ।

यसैबीच एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनमा क्षेत्र बाँडफाँड र सिट संख्या टुंग्याउने विषय जटिल बन्दै गएको छ । पहिलो चरणअन्तर्गत प्रदेश र संघको चुनावको उम्मेदवार मनोनयन दर्ता गर्न तीन दिन मात्रै बाँकी हुँदासम्म सहमति जुट्न सकेको छैन ।

क्षेत्र र सिट बाँडफाँड कार्यदलले दुई हप्तादेखि गृहकार्य गर्दा पनि अन्तिम टुंगो लगाउन नसकेपछि बिहीबार र शुक्रबार बैठक बसेर अन्तिम टुंगो लगाउने तयारी भएको गठबन्धनले जनाएको छ । गठबन्धनमा सहमति नजुटेपछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति गठबन्धनबाट बाहिरिसकेको छ । उम्मेदवारका आकांक्षी बढी र सबै पार्टीले बढी बढी सिट खोज्न थालेपछि गठबन्धनलाई सकस परेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org