ताजा समाचार

UPDATE: स्थानीय प्रशासनद्धारा झापाको बिर्तामोडमा अनिश्चितकालीन कर्फ्यू जारी

झापा, १० कात्तिक । बालक हत्याविरुद्धको र्‍यालीमा प्रहरीले गोली चलाएपछि झापाको जनजिवन प्रभावित बनेको छ । प्रहरीले बल प्रयोग गरेको भन्दै स्थानीयले विरोध प्रदर्शनलाई व्यापक बनाएपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले मुक्तिचोकको आसपास दुई किलोमिटर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको हो ।

पूर्वतर्फ बिर्तामोड बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिण तर्फ बिर्ता बजारलाई निषेधित क्षेत्र घोषणा गर्दै अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कारवाहीको माग गर्दै बिर्तामोडमा निकालिएको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेपछि तनाव भएको हो । लक्ष्मणको हत्या भएको एक महिना बित्नै लाग्दा पनि प्रशासनले हत्यारालाई पक्रिन नसकेको भन्दै परिवार, आफन्त र स्थानीयबासिन्दाले बिर्तामोड बजार बन्द गराएर र्‍याली निकालेका थिए ।  र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेपछि ढुङ्गामुढा भएको थियो ।

शान्तिपूर्ण आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले गोली प्रहार गर्न सुरु गरेको हो। तर, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीले भीडलाई तितरवितर गर्न अश्रुग्यास मात्र प्रहार गरेको बताएका छन् ।

दशैंको टीकाको दिन बेपत्ता भएका शिवाकोटीको शव त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । बिर्तामोड ५ का सुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । प्रहरीले हत्यारालाई कार्वाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले विरोध प्रदर्शन गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org