ताजा समाचार

सिटौलाको नाम समानुपातिकबाट हट्यो, प्रत्यक्षमा लड्ने, राप्रपाको यस्तो घोषणा

काठमाडौं, १३ कात्तिक । अन्ततः नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको नाम समानुपातिक सूचीबाट फिर्ता भएको छ । कांग्रेसले समानुपातिकतर्फको बन्दसूची संशोधन गरी निर्वाचन आयोगलाई बुझाउँदा सिटौलाको नाम हटाएको हो । पूर्वमहामन्त्री समेत रहेका सिटौलाको व्यापक असन्तुष्टिपछि कांग्रेसले उनको नाम समानुपाति सूचीबाट हटाएको हो ।

कांग्रेसले राप्रपासँग तालमेलकै लागि सिटौलाको नाम एक नम्बरमा राखेर समानुपातिकतर्फको प्रारम्भिक सूची आयोगमा बुझाएको थियो। समानुपातिकतर्फ नाम राखिएपछि असन्तुष्ट हुँदै आएका नेता सिटौलाले झापा पुगेर मतदाताहरुसँग सुझाव लिएका थिए।

उनले मतदाताहरुको सुझाव र स्थानीय नेता कार्यकर्ताको सुझावका बलमा समानुपातिकतर्फ नै राखिए संसदीय समिति र अन्य जिम्मेवारीबाट राजिनामा दिएर विरोधमा जाने धम्की सभापति शेरबहादुर देउवासहित नेताहरुलाई दिएपछि कांग्रेसले उनको नाम समानुपातिक सूचीबाट फिर्ता लिएको हो।

नाम फिर्ता लिएसँगै सिटौला झापा ३ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् । उनी प्रत्यक्षबाटै चुनाव लड्ने भएपछि महामन्त्री राजेन्द्र लिङ्देनलाई उठाउने तयारीमा रहेको राप्रपा र कांग्रेसबीच खटपट सुरु भएको छ । यसअघिको सहमति पालना नभए देशभर असहयोग गर्ने चेतावनी राप्रपाले दिएको छ।

सिटौलाको नाम समानुपातिको सूचीबाट हटाउँदै प्रत्यक्षबाटै चुनाव लड्ने भएपछि राप्रपाले कांग्रेससँगको गठबन्धन टुटेको घोषणा गरेका थिए । उनले कांग्रेसबाट धोका भएको टिप्पणी गर्दै गठबन्धनमा नबस्ने घोषणा गरेका हुन् ।

लोकतान्त्रिक गठबन्धनबाट झापा ३ मा उम्मेदवार बन्ने भएपछि गाउँमा भोट माग्दै हिँडेका लिङ्देनले गठबन्धन टुटेको प्रतिक्रिया दिए । उनले भने– एउटै गठबन्धनको उम्मेदवार एउटै निर्वाचन क्षेत्रमा दुईजना भएपछि गठबन्धन त सिद्धिइहाल्यो नि ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org