मोरङमा वाम गठबन्धन अगाडि, ‘हेभिवेट’ नेताहरुको रोचक भिडन्त
विराटनगर, १४ कात्तिक । यतिबेला दलहरु आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेका छन् । दुई गुटमा देखिएका राजनीतिक दलहरु यतिबेला उम्मेदवारको चर्चा परिचर्चा गर्नमा व्यस्त छन् । दलहरु यतिबेला स्थानीय तह निर्वाचनको मतपरिणामलाई केलाउँदै आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन रणनीति बनाउनमा व्यस्त छन् ।
खासगरी एमाले र माओवादी सम्मिलित वाम तथा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका कारण मोरङमा निर्वाचन निकै रोचक बन्दै गएको छ । अर्को कुरा दुवै गठबन्धनका ‘हेभिवेट’ नेताहरु एकअर्काका प्रतिस्पर्धी बनेका छन् । जसले गर्दा पनि जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । दुवै गठबन्धन मात्र होइन, स्वयं नेताहरुका लागि पनि यो निर्वाचन अस्तित्व रक्षाको चुनौती बन्ने देखिएको छ ।
मोरङमा प्रतिनिधिसभातर्फ ६ र प्रदेशका १२ निर्वाचन क्षेत्र छन् । विगतका नौबाट ६ वटा संसदीय क्षेत्र बनाइँदा कांग्रेसले आफूअनुकुल गराएको टिप्पणी हुने गरेको छ । मोरङमा ६ लाख ४४ हजार सात सय ८२ मतदाता छन् ।
स्थानीय तह निर्वाचनको परिणामका आधारमा वाम गठबन्धन बलियो देखिँदा कांग्रेस नेतृत्वको गठबन्धन मत बढाउने र वामपन्थी दल जोगाउने अभियानमा देखिन्छन् । सिट बाँडफाँटको क्रम जारी रहेकाले उम्मेदवारको अन्तिम नामावली आइसकेको छैन ।
यतिबेला स्थानीय तह निर्वाचनको मतपरिणाको आधारमा पनि वाम गठबन्धन अगाडि देखिन्छ । स्थानीय तह चुनावमा वडाध्यक्षहरुको मतलाई आधार मान्दा वाम गठबन्धनको अवस्था बलियो देखिन्छ । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र १, २ र ३ मा वाम गठबन्धन बलियो देखिएको छ । भने ४ र ६ मा कांग्रेस नेतृत्वको गठबन्धनको अवस्था राम्रो छ । यस्तै, निर्वाचन क्षेत्र ५ मा दुवै गठबन्धनबीच तीव्र प्रतिस्पर्धाको अवस्था छ । उक्त क्षेत्रमा कांग्रेस र संघीय समाजवादी फोरमबीच तालमेल भएमा भने वाम गठबन्धन कमजोर देखिन सक्छ ।
मोरङ क्षेत्र नम्बर १ः
क्षेत्र नम्बर १ मा एक लाख सात हजार दुई सय ३५ मतदाता छन् । त्यसमा स्थानीय तहका ३७ वटा वडा समेटिएका छन् । स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवारले २४ हजार दुई सय आठ मत पाएका थिए । कांग्रेस उम्मेदवारले २३ हजार ६ सय २६ र माओवादी केन्द्रका उम्मेदवारले आठ हजार नौ सय ६२ मत प्राप्त गरेका थिए । एमाले र माओवादीको मत ३३ हजार एक सय ७१ छ, जुन कांग्रेसको मतभन्दा करिब १९ हजार बढी हो ।
क्षेत्र नम्बर २ः
क्षेत्र नम्बर २ मा एक लाख ११ हजार तीन सय २१ मतदाता छन् । जिल्लाको पूर्वी भेगस्थित स्थानीय तहका २९ वटा वडा समेटिएका छन् । २ नम्बर क्षेत्रमा कांग्रेसले २२ हजार तीन सय ५०, एमालेले १९ हजार ४१ र माओवादी केन्द्रले ११ हजार दुई सय ३२ मत पाएका थिए । एमाले र माओवादीको मत जोड्दा ३० हजार दुई सय ७३ मत हुन आउँछ, जुन कांग्रेसको भन्दा करिब आठ हजार बढी हो ।
क्षेत्र नम्बर ३ :
क्षेत्र नम्बर ३ मा एक लाख २७ हजार चार सय ९६ मतदाता छन् । त्यस क्षेत्रका २६ वटा वडामा एमालेले २९ हजार एक सय ६२, कांग्रेसले २१ हजार ८७ र माओवादीले १३ हजार चार सय ९५ मत पाएका थिए । अब वाम गठबन्धनको मत ४२ हजार ६ सय ७५ पुगेको छ । उक्त क्षेत्रमा कांग्रेसभन्दा २१ हजार बढीको मतान्तर देखिन्छ । राप्रपाको एक हजारभन्दा कम मत निर्णायक हुने अवस्था छैन ।
विराटनगर महानगरपालिका जोडिएका जिल्लाका ४, ५ र ६ नम्बर क्षेत्रमा भने मधेसकेन्द्रित दलको प्रभाव राम्रो देखिन्छ । क्षेत्र नम्बर ५ मा संघीय समाजवादी फोरमको तथा ४ र ६ मा फोरम लोकतान्त्रिकको मतको प्रभाव बढी देखिन्छ । फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भइसकेकाले यी क्षेत्रमा कांग्रेस बलियो देखिएको छ । संघीय समाजवादीसँग पनि कांग्रेसको गठबन्धन भएमा ५ नम्बर क्षेत्रमा पनि बलियो बन्नेछ ।
क्षेत्र नम्बर ४ः
विराटनगर महानगरपालिकासहित आसपासका २३ वडा रहेको क्षेत्र नम्बर ४ मा ९९ हजार दुई सय ८७ मतदाता छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसको १७ हजार सात सय ११, एमालेको १६ हजार ६ सय ४४, लोकतान्त्रिक फोरमको सात हजार चार सय ९६ र माओवादी केन्द्रको ६ हजार चार सय ६१ मत थियो । वाम गठबन्धनको मत २३ हजार एक सय पाँच पुगेको छ भने कांग्रेस गठबन्धनको २५ हजार दुई सय सात । यस हिसाबबाट करिब दुई हजार मतको अग्रतामा कांग्रेस देखिएको छ ।
क्षेत्र नम्बर ५ः
यस्तै, ८९ हजार दुई सय ८७ मतदाता रहेको क्षेत्र नम्बर ५ का २४ वडामा कांग्रेसको १३ हजार तीन सय ६९ र संघीय समाजवादी फोरमको १२ हजार नौ सय ५४ मत स्थानीय तह चुनावमा आएको थियो । फोरम लोकतान्त्रिकको तीन हजार मत छ । माओवादी केन्द्रको ११ हजार एक सय ८१ र एमालेको आठ हजार नौ सय ७९ गरी वाम गठबन्धनको मत १९ हजार नौ सय ६० छ । कांग्रेस र लोकतान्त्रिक फोरमको मत १६ हजार छ ।
क्षेत्र नम्बर ५ मा संघीय समाजवादी फोरमको १२ हजार नौ सय ५४ मत नै निर्णायक मत देखिन्छ । उक्त क्षेत्र पूर्वप्रधानमन्त्रीहरु बीपी कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको पुख्र्यौली घर रहेको क्षेत्र पनि हो । सोही कारण उक्त क्षेत्रमा कांग्रेसलाई बलियो मानिन्छ । एमाले र माओवादीबीच गठबन्धनका कारण कांग्रेसका उम्मेदवारले चुनौती सामना गर्नुपर्ने देखिन्छ ।
क्षेत्र नम्बर ६ः
कुल एक लाख १० हजार तीन सय २२ मतदाता रहेको क्षेत्र नम्बर ६ मा २९ वडा छन् । स्थानीय तहमा कांग्रेसको २९ हजार नौ सय ४९ मत पाएको थियो । एमालेले १७ हजार नौ सय ८२, माओवादी केन्द्रको आठ हजार तीन सय ९८, फोरम लोकतान्त्रिकको आठ हजार ४८ र संघीय समाजवादी फोरमको पाँच हजार तीन सय २८ मत छ । उक्त क्षेत्रमा वाम गठबन्धनको मत २६ हजार तीन सय ८० र कांग्रेस–लोकतान्त्रिक फोरमको २८ हजार नौ सय ८८ मत देखिन्छ । उक्त क्षेत्रमा पनि करिब १५ सय मत राप्रपाको छ ।
वाम गठबन्धनको क्षेत्र बाँडफाँडः
एमाले र माओवादीबीच क्षेत्र बाँडफाँट भइसकेको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ४ र ५ माओवादीको भागमा परेको छ, १, २, ३ र ६ एमालेले लिएको छ । १ र ३ मध्ये एउटामा माओवादीले दाबी गरेपछि सहमति जुट्न कठिन भएको थियो ।
माओवादी केन्द्रका मोरङ संयोजक गोपी अछामीले शीर्ष नेतृत्वले क्षेत्र बाँडफाँट टुंग्याएको बताए । माओवादीले प्रतिनिधि सभाका हरेक क्षेत्रअन्तर्गत प्रदेशतर्फको एउटा सिट पाएको छ ।
प्रतिनिधिसभातर्फको क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडाका टिकट पाएका छन् । कांग्रेसले पनि जिल्ला अध्यक्ष तथा पूर्वसभासद डिकबहादुर लिम्बूलाई अगाडि सार्ने भएको छ ।
क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेलको नाम टुंगिएको छ । कांग्रेसले हेभिवेट उम्मेदवार मानिएका डा. मिनेन्द्र रिजाललाई उठाउँदैछ ।
क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ एमालेका भानुभक्त ढकाललाई अघि सार्ने तयारी भएको छ । कांग्रेसले विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मालाई ल्याउने तयारी गरेको छ ।
क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका सचिवालय सदस्य साबित्रीकुमार काफ्लेलाई उठाउने तयारी छ । कांग्रेसले पूर्वअथमन्त्री महेश आचार्यलाई उम्मेदवार बनाउने भइका छ ।
क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रका सचिवालय सदस्य शिवकुमार मण्डल सर्वसम्मत उम्मेदवार बन्दैछन् । कांग्रेसबाट पूर्वजिल्ला सभापति तथा पूर्वसभासद अमृत अर्याललाई उठाउने तयारी छ ।
क्षेत्र नम्बर ६ मा हेभिवेट भनिएका एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डितको नाममा यसअघि नै सहमति जुटिसकेको छ । काग्रेसले डा. शेखर कोइरालालाई उम्मेदवार बनाउने टुंगो लागिसकेको छ ।
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...