ताजा समाचार

अन्ततः कांग्रेसले यसरी लगायो प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको टुंगो

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रसले दोस्रो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि सबै क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको संसदीय बोर्ड बैठकले मंसिर २१ गते निर्वाचन हुने १ सय २८ वटा प्रतिनिधिसभा सदस्य र २ सय ५६ वटा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको नाम टुंगो लगाएको हो ।

हिजो बुधबारदेखि बसेको बैठकले रातभर छलफल गरि आज विहान मात्रै उम्मेदवारहरुको नाममा अन्तिम सहमति जुटाएको हो । बैठकले राप्रपा र राप्रपा प्रजातान्त्रिकका लागि केहि स्थानमा सिट खाली गरिदिने निर्णय गरेको छ ।

१ सय २८ वटा प्रतिनिधिसभा सदस्य र २ सय ५६ वटा प्रदेशसभाको उम्मेदवारी दिने सवालमा कांग्रेसले ५ वटा निर्वाचन क्षेत्र राप्रपा र राप्रपा प्रजातान्त्रिकका लागि छोडेर अन्यमा उम्मेदवारी दिने निर्णय सहित उम्मेदवारको नामलाई अन्तिम रुप दिएको हो ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि दैलेख, मकवानपुर क्षेत्र नम्बर १ र काठमाण्डौको ७ नम्बर क्षेत्र तथा पशुपति शमसेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकका लागि चितवनको क्षेत्र नम्बर ३ र रुपन्देहीको ३ नम्बर क्षेत्रमा कांग्रेसले सिट खाली गरेको हो । ती क्षेत्रमा कांग्रेसले उम्मेदवारी नदिई राप्रपा र राप्रपा प्रजातान्त्रिकलाई सहयोग गर्ने निर्णय गरेको निर्वाचन प्रचार प्रसार समितिका संयोजक बालकृष्ण खाँडले जानकारी दिए ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा डडेलधुरा, तनहुँ १ बाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला नवलपरासी १, नेता प्रकाशमान सिंह काठमाण्डौ १,कृष्णप्रसाद सिटौला झापा ३ र बिमलेन्द्रनिधी धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने छन् । पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि ३२ वटा जिल्लामा ३७ वटा प्रतिनिधि सभा र ७४ प्रदेश सभाको निर्णय यसअघि नै भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org