ताजा समाचार

कमलादी गोलीकाण्डमा आरोपी भारतीय प्रहरी, गोली यसरी चलेको थियो

काठमाडौं, १६ कात्तिक । बुधबार साँझ काठमाडौँको कमलादी क्षेत्रमा भएको गोलीकाण्डमा नयाँ ट्वीस्ट आएको छ । प्रहरीले पेस्तोल र ठूलो मात्रामा गोली गठ्ठासहित पक्राउ गरेको दुई जना भारतीय नागरिक अन्ततः भारतीय प्रहरी भएको खुलेको छ । उनीहरुको साथबाट प्रहरीले भारतीय प्रहरीको परिचयपत्र फेला पारेको हो ।

पछिल्लो समय भारतीय सुटरहरु नेपालमा पक्राउ पर्ने क्रम बढेकाले प्रहरीले उनीहरुलाई आपराधिक गिरोहकै सदस्य रहेको अनुमान गरेको थियो । तर, उनीहरुसँग प्रहरीको परिचयपत्र भेटिएपछि घटनाले नयाँ मोड लिएको छ । दुवैलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त राखिएको थियो ।

अहिले नेपाल प्रहरीको डिआइजीको कमाण्डमा रहने विशेष व्युरोले घटनाको अनुसन्धान शुरु गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुले प्रयोग गर्ने पेस्तोल समेत भारतीय रक्षा मन्त्रालय अन्तर्गतको कारखानाबाट उत्पादीत भएको पाइएको छ ।

‘सिआईबीका हौँ’ भन्दै डान्स क्लबमा धम्क्याउँदा गोली चल्योः

भारत पन्जाबका जसवीर सिंह र हरदेवेन्द्र सिंह कमलादीस्थित दिल कुमार लामाको ज्याक ड्यानियल डान्स क्लबमा पुगेका थिए । त्यहाँ उनीहरुले दुई जना युवतीसँग बसेर रक्सी पिएका थिए । पछि पैसा तिर्ने बेला उनीहरुको बिल रकमको विषयमा क्लबका कर्मचारीसँग वादविवाद भएको थियो ।

बारका कर्मचारी अनुसार उनीहरुले वादविवादको क्रममा ‘हामी भारतीय सिआईबीको मान्छे’ भन्दै थर्काएका थिए । तर, बाउन्सहरुले प्रहरी भए पनि पैसा तिर्न धम्काएका थिए । लगत्तै उनीहरुले पेस्तोल झिकेर गोली फायर गरी त्यहाँबाट भागेका थिए । उनीहरु भागेको केही बेरमा नै प्रहरीले पक्राउ गरेको थियो ।

दुवैलाई पक्राउ गरेपछि प्रहरीले सोधपुछ गर्दा उनीहरुले आफूहरु भारतको पञ्जावबाट आएको बताएका थिए । दुवै रक्सौल हुँदै मंगलबार काठमाडौँ आइपुगेका थिए । काठमाडौँ आएर उनीहरु हेरिटेज प्लाजामा बसेका थिए । प्रहरीले उनीबाट भारतीय रक्षा मन्त्रालयको राइफल फ्याक्ट्रीबाट उत्पादीत पेस्तोल बरामद गरेको छ भने ५१ राउण्ड गोली पनि बरामद गरेको छ । होटलमा प्रहरीले उनीहरुसँग पिबी १० एफएस ७४४९ नम्बरको कार समेत फेला पारेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org