ताजा समाचार

असुरक्ष बढेको भन्दै उम्मेदवारलाई सादा पोसाकमा नेपाली सेनाको सुरक्षा

काठमाडौं, १९ कात्तिक । चुनावका बेला असुरक्षित महशुस गरेका उम्मेदवार तथा नेताहरुलाई नेपाली सेनाले सादा पोसाकमा सुरक्षा दिएको छ । नेपाली सेनाले निर्वाचनका बेला उम्मेदवार तथा नेताहरुको सुरक्षालाई ध्यानमा राख्दै बढि खतरा भएकाहरुलाई सादा पोसाकबाटै सुरक्षा दिन थालेको नेपाली सेनाको स्रोतले भन्यो ।

‘ सुरक्षा खतरामा रहेका नेतालाई सादा पोसाकमा सुरक्षा दिइएको छ, आफ्नो सुरक्षा अवस्था आकलन गर्दै सुुरक्षा निकायसँग समन्वय गर्न पनि नेता तथा उम्मेदवारलाई सचेत गराइएको छ ।’ स्रोतले भन्यो । उम्मेदवारले आफूमाथि पर्न सक्ने खतरा आफैंलाई थाहा हुन सक्ने भएकाले सुरक्षा सचेतना अपनाउन सेनाले आग्रह समेत गरेको बुझिन्छ ।

सुरक्षासम्बन्धी सानो सूचना पनि सुरक्षा निकायलाई दिन कन्जुस्याइँ नगर्नसमेत सेनाको सुझाव छ । सेनाको उच्च स्रोतका अनुसार सुरक्षा खतरामा रहेका उम्मेदवारलाई सेनाले व्यक्तिगत रूपमा नै जानकारी दिँदै आफूले दिएको सुरक्षाबारे अवगत गराउने गरेको छ ।

कतिपय नेताहरू सार्वजनिक समारोहमा जाँदा ध्यान दिनुपर्ने र राति अबेरसम्म हिँड्दा समस्या पर्न सक्ने भन्दै सचेत गराइएको सेना सम्बद्ध स्रोतको भनाई छ । तराईका केही स्थानमा त्यस्तो चुनौती रहेको सेनाले उल्लेख गरेको छ ।

त्यस्तै उम्मदेवारको सुरक्षामा सेनाले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग समेत समन्वय गरेको छ । हरेक निर्वाचनको मुखमा निर्वाचनविरोधी केही गतिविधि हुने हुनाले उम्मेदवार आफैं सचेत रहनुपर्ने विषयमा सबै सुरक्षा निकाय सहमत हुँदै त्यस्तो सुझाव दिइएको हो । सेनाले त्यस्ता सबै स्थानमा आफ्ना सुरक्षाकर्मी खटाइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org