ताजा समाचार

आचार संहिता उल्लंघन गर्दै कांग्रेस उम्मेदवार हेलिकप्टर चार्टर गरेर प्रचारमा

गोरखा, २० कात्तिक । कांग्रेस उम्मेदवारले आचार संहिता उल्लंघन गर्दै हेलिकोप्टर चार्टर गरेका छन् । गोरखा क्षेत्र नम्बर १ प्रदेश ख का उम्मेदवार राजेन्द्र बजगाईले निर्वाचन आचार संहिता उल्लंघन गर्दै हेलिकप्टर चार्टर गरेर चुनाव प्रचार प्रसार गर्न थालेका हुन् ।

सोमबार बिहानै उनी हेलिकप्टर लिएर उत्तरी गोरखास्थित चुमनुव्री गाउँपालिकाको विभिन्न क्षेत्रमा पुगेको स्थानियवासीले बताएका छन् । उनले चुनाव प्रचार गरेको स्थलको तस्बिरमा दुईवटा हेलिकप्टर देखिन्छ । कांग्रेस सभापति तथा प्रदेशका समानुपातिक तर्फमा उम्मेदवार हरिबहादुर घले पनि उनी सँगै गएका छन् ।

जिल्ला सुरक्षा समितिले बजगाईको कार्यक्रमबारे थाहा नभएको प्रतिक्रिया दिएको छ । सामागाउँबाट ल्हो तर्फ उम्मेदवार हेलिकप्टरमा उडेको प्रहरी स्रोतले जनाएको छ । ‘आज उम्मेदवार सम्पर्कविहिन हुनुहुन्छ, सुरक्षा समितिमा जानकारी छैन,’ एक सुरक्षा प्रमुखले भने । चुनावी कार्यक्रमबारे सुरक्षा समितिलाई पूर्व जानकारी दिनुपर्ने भएपनि उनले जानकारी बिना हेलिकप्टर चार्टर गरेर त्यसतर्फ सुटुक्क गएको स्रोतको दाबी छ ।

निर्वाचन आयोगका सहसचिव विकास तिमिल्सिनाले बजगाईले हेलिकप्टर चार्टरको अनुमति लिएकोबारे जानकारी नभएको बताए । ‘अनुमति लिएको मेरो जानकारीमा छैन,’ उनले भने ।

प्रवक्ता नवराज ढकालले पनि यसबारे अनविज्ञता प्रकट गरे । बजगाईले हेलिकप्टर चार्टर गरेर प्रचारप्रसार थालेपछि माओवादी र एमाले उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति नलिएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org