ताजा समाचार

अकुत सम्पत्तिमा अख्तियारद्धारा एकैपटक २ सय सरकारी अधिकारीमाथि छानविन

काठमाडौं, २० कात्तिक । अख्तियारले अकुत सम्पत्ति आर्जनमा गरेको आशंकामा २ सय उच्च सरकारी अधिकारीमाथि छानविन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अवकासप्राप्त र वहालवालासहित २ सय उच्च सरकारी अधिकारीमाथि विस्तृत छानविन थालेको हो ।

अख्तियारले सुरक्षा निकाय, सिंचाइँ, खानेपानी, सडक, भौतिक पूर्वाधार तथा यातायात, अर्थ, स्वास्थ्य मन्त्रालय अन्तर्गतका उच्च अधिकारीको सम्पत्ति छानविन थालेको हो । अख्तियारको अकुत सम्पत्ति छानविनमा ४० जना इन्जिनियर, २० जना सुरक्षा निकायका उच्च पदस्थ अधिकारी र पाँच जना सचिवसमेत परेका छन् ।

त्यस्तै, २० जना डाक्टर, विभिन्न सार्वजनिक संस्थानका प्रमुखसमेत अख्तियारको अकुत सम्पत्ति छानविनमा परेका छन् । ‘अकुत सम्पत्ति छानविन सूचीमा परेका केहीसँग अहिले पनि बयान चलिरहेको छ,’ अख्तियार स्रोतले भन्यो, ‘बाँकीलाई पनि वयानका लागि बोलाउने तयारी छ ।’

अख्तियार अन्तर्गतकै ‘इन्टेलिजेन्स एजेन्सी’ले दिएको रिर्पोटका आधारमा छानविन थालिएको हो । अख्तियारले आइतबार मात्र पूर्वप्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, सचिव गजेन्द्रकुमार ठाकुर लगायतका चार अधिकारीसँग बयान लिएको थियो ।

अर्थ मन्त्रालय अन्तर्गतको राजश्व न्यायाधिकरण, भन्सार भन्सार कार्यालय, क्षेत्रीय डिभिजन कार्यालय, सडक डिभिजन, स्वास्थ्य, तत्कालिन स्थानीय निकायका अधिकारीहरू पनि छानविनमा परेका अख्तियार स्रोतले बताएको छ ।

यसअघि अख्तियारले अकुत सम्पत्ति आर्जनमा एक हजार पाँच सय सरकारी अधिकारीको नाम छानविनका लागि तयार गरेको थियो । त्यसबाट ‘सर्टलिष्टेड’ गरेर पाँच सय अधिकारीको नाम तयार गरिएको थियो । पाँच सय मध्येबाट पनि दुई सयमाथि छानविन थालिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org