ताजा समाचार

चुनावको मुखैमा देउवाले डीएसपीदेखि एआईजीसम्म २२ अधिकृतको बढुवा गर्दै

काठमाडौं, २१ कात्तिक । चुनावको मुखैमा प्रहरी अधिकृतहरुको बढुवाको तयारी भईरहेको छ । सरकारले निर्वाचन आचारसंहिता लागू भएकै बेला प्रहरी नायव उपरीक्षक (डीएसपी) देखि अतिरिक्त महानिरीक्षक (एआईजी) सम्मका प्रहरी अधिकृतको बढुवा गर्ने तयारी गरेको हो । गृह मन्त्रालयले दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी), पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), पाँच प्रहरी उपरीक्षक (एसपी) र सात प्रहरी नायव उपरीक्षक (डीएसपी) को बढुवाको तयारी गरेको हो ।

यसका लागि गृह मन्त्रालयलाई निर्वाचन आयोगले सहमति दिइसकेको बताइएको छ । गृहमन्त्रीको कार्यभारसमेत आफैं सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजी बनाउन निर्वाचन आचारसंहिता जारी रहेकै बेला बढुवा प्रक्रिया अगाडि बढाएका हुन् ।

प्रधानमन्त्री देउवा डीआईजी हेमन्त पाल र मधुप्रसाद पुडासैनीलाई एआईजी बनाउन चाहान्छन् । अर्का डीआईजी पंकज श्रेष्ठ पनि एआईजीका दाबेदार हुन् । तर उनको सम्भावना कम रहेको स्रोतको दाबी छ ।

तत्कालीन गृहमन्त्री जनार्दन शर्माले कार्यक्षमता राम्रो हुँदाहुँदै पनि वरिष्ठलाई पाखा लगाएर उनीहरुलाई बढुवामा छुटाएका थिए । तत्कालीन गृहमन्त्री शर्माको यो कदमको त्यतिबेला चर्को आलोचना भएको थियो । यस्तै माधव नेपाल र गोविन्द निरौला पनि एआईजी बढुवाका प्रतिस्पर्धी हुन् ।

सरकारले दुई महिना मात्र अगाडि एआईजीको दरबन्दी ११ बाट बढाएर १३ पुर्‍याएको थियो । नवराज सिलवालले राजिनामा दिएकाले हाल एक डीआईजी पद रिक्त छ । एआईजीमा दुई जना बढुवा भएपछि डीआईजी पद तीन ओटा खाली हुने हुनाले सरकारले अहिले नै तीन जना डीआईजी बढुवाको प्रक्रिया अगाडि बढाएको हो ।

उता, एसएसपी बलराम शर्मा पौडेलले आइतबारबाट अवकाश पाएकाले अहिले दुई ओटा एसएसपी पद रिक्त छ । एसएसपी राजेन्द्रमान श्रेष्ठ डीआईजीमा बढुवा भइसकेकाले दुई पद रिक्त भएको हो । तीन एसएसपी डीआईजीमा बढुवा हुँदा पाँच एसएसपी पद रिक्त हुन्छ । एसएसपी केदार रिजाल, दिनेश अमात्य, पिताम्बर अधिकारी, शेरबहादुर बस्नेत, दीपक थापा, दानसिंह बोहरा, सुभाष चौधरी, श्याम खत्री र नारायणसिंह खड्का डीआईजी बढुवाका प्रतिस्पर्धी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org