ताजा समाचार

मनाङका उम्मेदवार काठमाडौँमा प्रचार गर्दै, कारण थाहा पाउँदा आफैं अचम्म

मनाङ, २१ कात्तिक । मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका मनाङका उम्मेदवार प्रचारप्रसारका लागि काठमाडौँ पुगेका छन् । मनाङका लगभग ५० प्रतिशतभन्दा बढी मतदाता काठमाडौँमै बसोबास गर्ने भएकाले दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार काठमाडौँमा प्रचार गर्न गएका हुन् । काठमाडौँमा बसोबास गर्ने मनाङीको मतदाता नामावली मनाङमै भएको हुनाले उम्मेदवार उम्मेदवारी मनोनयनपछि काठमाडौँ पसेका हुन् ।

विशेष गरेर माथिल्लो मनाङ र नार फुका मानिस व्यापार व्यवसायका लागि मनाङ छाडी काठमाडौँ बसोबास गर्दै आएका छन् । काठमाडौँवासी मतदान गर्न मनाङ आउने भएका कारण उम्मेदवार मतदाता खोज्दै काठमाडौँ पुगेका हुन् । मनाङमा उच्च प्रतिस्पर्धामा रहेका दुई ठूला दल काँगे्रस र एमालेका उम्मेदवार मतदाताको घरदैलोमा मत मागिरहेका छन् ।

काँगे्रसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार टेकबहादुर गुरुङ, प्रदेश ‘क’ का चिन्तबहादुर घले र प्रदेश ‘ख’ का कर्म गुरुङलगायतका प्रचार टोली अहिले काठमाडौँमा प्रचारप्रसारमा खटिरहेको नेका जिल्ला सचिव सुरेन्द्र गुरुङले बताउनुभयो । त्यस्तै, एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पाल्तेन छोपाङ गुरुङ, प्रदेश ‘क’ का धोर्जे ढिन्दुल गुरुङलगायतका प्रचारप्रसार टोली भने प्रचारप्रसार सकी मनाङ फर्किएको एमाले पार्टी स्रोतले जनाएको छ । मनाङका आधाभन्दा बढी मतदाता काठमाडौँमा बसोबास गर्ने भएकाले उम्मेदवार मतदाताको मन जित्न काठमाडौँ गएका हुन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org