ताजा समाचार

नारायणकाजी श्रेष्ठलाई नमस्कार गरेको बृद्धको काखमा भएको पैसा कस्को ?

काठमाडौं, २२ कात्तिक । यतिबेला समाजिक संजालमा उम्मेदवारहरु भोट माग्दै हिँडेको तस्विर बग्रेल्ती देख्न पाइन्छ । शीर्ष तहका नेताहरुले भोग माग्दै गाउँ गाउँ हिँडेका तस्विर त झन नछुटाइकन फेसबुक र ट्वीटरमा हाल्ने प्रवृत्ति बढ्दै गएको छ ।

मुलुकभरकै सबैभन्दा रोचक प्रतिस्पर्धा मानिएको गोरखा २ नम्बर क्षेत्रमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजी श्रेष्ठबिचको चुनावी भिडन्त हेर्न लायक छ । दुवै नेताहरु एउटै निर्वाचन क्षेत्रमा प्रचार प्रसारमा व्यस्त छन् । चुनावी कार्यक्रमका तस्विरहरुले नै उनीहरुको गतिविधि प्रष्ट पारेको छ । तर सबै तस्विर एकनासका हुँदैनन् । नरायणकाजी श्रेष्ठले भोट माग्नका लागि एक वृद्धलाई नमस्कार गरेको एउटा तस्विर श्रेष्ठका लागि घातक बनेको छ ।

मंगलबार सुलिकोट गाउँपालिका–२ को घरदैलो गर्दाको श्रेष्ठको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । श्रेष्ठको चुनावी प्रचारको क्रममा मकवानपुरबाट गोरखा पुगेका पत्रकार सुनिल खड्काले सार्वजनिक गरेको तस्बिरमा श्रेष्ठले एक वृद्धसँग नमस्कार गर्दै भोट मागिरहेका छन् । नमस्कार गर्दा खाटमा पल्टिएका वृद्ध मुस्कुराइरहेका छन् । मुस्कुराई रहेका वृद्धको काखमा पैसा देखिन्छ ।

वृद्धको काखमा भएको पैसा वृद्ध स्वयम्कै नहोला भन्ने कुनै आधार छैन । तर उक्त पैसा नारायणकाजी श्रेष्ठले नमस्कार गर्नुअघि नै वृद्धलाई दिएको आरोप लगाइयो । श्रेष्ठमाथि पैसा बाँड्दै भोट मागेको आरोप त्यही तस्विरका कारण लागेको हो ।

सामान्यतयाः घरमा पाहुना आएको बेला काखमा पैसा लिएर कोही बस्दैनन्, त्यसैले श्रेष्ठले नै मतदातालाई पैसा दिँदै हिँडेका छन् भन्ने तर्क पनि नकार्न सकिदैन । सामाजिक सञ्जालमा नेता श्रेष्ठले ती वृद्धलाई पैसा दिएको आरोप लगाउँदै उक्त तस्बिर शेयर गरिएको छ । तर, तस्बिर हेर्दा वृद्धको काखमा भएको रकम ती वृद्धको आफ्नै हो कि श्रेष्ठले दिएका हुन् भन्नेमा स्पष्ट हुन सकिँदैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org