ताजा समाचार

मधेशकेन्द्रित दलको चुनावी एजेण्डा के हो ? घोषणापत्र बिना नै चुनावमा

काठमाडौं, २२ कात्तिक । मधेशकेन्द्रित दलहरु विना घोषणापत्र चुनावमा होमिएका छन् । बौद्धिक मतदाताका लागि र पार्टीको धारणा सार्वजनिक गर्न महत्वपूर्ण मानिएको घोषणापत्रलाई मधेशकेन्द्रित दलहरुले लत्याएका छन् ।

नेपाली कांग्रेस, एमाले र माओवादी सम्मिलित वाम गठबन्धन, राप्रपा लगायतका दलहरुले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर मतदान नजिकिदै जाँदा पनि मधेशकेन्द्रित दलहरुले घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन्।

आफुलाई मधेशको रैथाने दाबी गर्ने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले घोषणापत्र तयार गर्न समिति समेत बनाउन सकेको छैन। सबै नेताहरु आ आफ्नो क्षेत्रमा रहेकाले घोषणापत्र तयार हुन नसकेको राजपाका महासचिव मनिष सुमनको भनाई छ । उनी भन्छन्, ‘हालसम्म पार्टीको घोषणापत्र तयार भएको छैन। हामी सबै नेताहरु अहिले आ–आफ्नो क्षेत्रमा रहेकाले घोषणापत्र तयार हुन सकेको छैन।’

सुमनले घोषणापत्र एउटा समितिको जिम्मा दिएर बनाउने भने पनि हालसम्म समिति गठन हुन नसकेको बताए। उनले भने, ‘हामी आन्दोलनकारी पार्टी हौं। हाम्रा एजेण्डाहरु जनताले बुझेका छन्। त्यसकारण हाम्रो प्राथमिकतामा घोषणापत्र परेको छैन।’

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको ६ वटा पार्टी मिलेर बनेको राजपामा दस्तावेजहरु निर्माणका लागि विवाद हुँदै आएको छ। पार्टीको विधान पनि विवादरहित बनेको छैन। स्थानीय निकाय निर्वाचनको घोषणापत्रमा पनि निकै विवाद भएको थियो। प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी घोषणापत्र निर्माणमा पुनः विवाद हुने भन्दै नेताहरु पन्छिन खोजेपछि घोषणा पत्र बन्न नसकेको वा घोषणामा ढिलाई भएको हो ।

संघीय समाजवादी फोरम नेपालले पनि हालसम्म चुनावी घोषणापत्र सार्वजनिक गर्न सकेको छैन। फोरम नेपालकी नेतृ रेखा यादवले घोषणापत्र तयार भईरहेको बताईन् । उनले भनिन्,‘हाम्रो चुनावी घोषणापत्र तयार भइरहेको छ । बुधबार रातिसम्म फाइनल हुनेछ।’ यसै साताभित्र घोषणापत्र सार्वजनिक हुन सक्ने यादवले बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org