ताजा समाचार

कञ्चनपुरमा वाम गठबन्धनलाई झट्काः दुई राप्रपाले कांग्रेसलाई सहयोग गर्ने

कञ्चनपुर, २६ कात्तिक । आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) कञ्चनपुरले नेपाली कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

तीन दलले शनिबार बेलुका भीमदत्तनगरमा संयुक्त पत्रकार सम्मेलन गरी कञ्चनपुरमा नेपाली कांग्रेससहित तीन राजनीतिक शक्तिबिच चुनावी एकता भएको उद्घोष गरेका छन् । राप्रपाका नेताहरुले प्रत्यक्षतर्फका कञ्चनपुर कांग्रेसका तीनवटै प्रतिनिधिसभा सदस्य र ६ वटै प्रदेशसभाका सदस्यलाई सहयोग गर्ने बताएका छन् । “हामी वडास्तरसम्म संयुक्त समन्वय समिति गठन गरेर चुनावीसभादेखि घरदैलोसम्म गर्छौं ।” राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले भन्नुभयो, “जिल्लामा निर्वाचन परिचालन समितिसमेत बन्नेछ ।”

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले दुई राप्रपाको सहयोग निर्णायक हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले वाम गठबन्धनले कञ्चनपुरमा उम्मेदवार छनौटमा यहाँका थारु समुदायलाई उपेक्षा गरेको भन्दै कांग्रेसले सबै पक्षलाई समेटेर उम्मेदवारी दिएको बताउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले निर्वाचनअघि नै देशमा चुनावी तालमेल भएर नयाँ अभ्यास सुरु भएको बताउनुभयो । उहाँले संविधान कार्यान्वयन नहुँदै वाम गठबन्धनले संविधान परिवर्तन गर्न खोजिरहेको आरोप लगाउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org