ताजा समाचार

देशभरबाट एक सय ६७ तेस्रो लिङ्गी निर्वाचनमा सहभागि हुने

काठमाडौं, २६ कात्तिक । आसन्न मंसिर १० र २१ गतेको निर्वाचनमा १६७ जना तेस्रो लिङ्गीले मतदान गर्न पाउने भएका छन् । कुल मतदाता एक करोड ५४ लाख २७ हजार ९३४ रहेकामा मुलुकभर १६७ तेस्रो लिङ्गी निर्वाचनको मत प्रक्रियामा सहभागि हुने निर्वाचन आयोगका सूचना व्यवस्थापन केन्द्रका वरिष्ठ कम्प्युटर अधिकृत चन्द्र साहले जानकारी दिए ।

नागरिकता लिएको आधारमा आयोगले १६७ जना तेस्रो लिङ्गीको तथ्यांक निकालेको हो । साहका अनुसार सो संख्या गत स्थानीय तहको निर्वाचनमाभन्दा २३ जनाले बढी हो । स्थानीय तहको निर्वाचनमा १४४ जना तेस्रो लिङ्गी निर्वाचनमा सहभागि भएका थिए । सबैभन्दा बढी सप्तरीमा २० जना तेस्रो लिङ्गी, पर्सामा १६ र काठमाडौँमा ११ जना तेस्रो लिङ्गी सहभागि हुनेछन् । देशको ३३ जिल्लामा भने तेस्रो लिङ्गी मतदाता रहेका छैनन् ।

यसैगरी नयाँ शक्ति नेपालले तेस्रो लिङ्गी पिङ्की गुरुङ (सञ्जीव) लाई उम्मेदवार बनाएको छ । नयाँ शक्तिले प्रतिनिधिसभाको सदस्यको लागि समानुपातिकतर्फबाट नीलहीरा समाजका अध्यक्षसमेत रहनुभएका गुरुङलाई उम्मेदवार बनाएको हो ।

गुरुङले पुरुष र महिलाको प्रतिनिधित्व हुने ठाउँमा आफू पनि उम्मेदवार बनेको बताउनुभयो । प्रचारप्रसारकै क्रममा काठमाडौँको गहना पोखरीमा भेटिनुभएका उहाँले रासससँग भन्नुभयो– “संविधानले नै समावेशी सिद्धान्त अपनाएकाले मलाई पनि उम्मेदवार बन्न सजिलो भएको छ ।”

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org