ताजा समाचार

वर्षमानको हत्या गर्ने विप्लव कार्यकर्ताको योजना, भिरबाट ढुंगा खसाल्दै अवरोध

रोल्पा, २६ कात्तिक । माओवादी केन्द्रका नेता वर्षमान पुनको चुनावी अभियानलाई विप्लव माओवादीको अवरोध आएको छ । पूर्वमाओवादी नेता नेत्रविक्रम चन्दका कार्यकर्ताबाट आफ्नै पूर्वसहकर्मी वर्षमान पुनको चुनावी अभियानमाथि निरन्तर अवरोध हुन थालेको हो ।

शनिबार वर्षमान चढेको गाडीलाई लक्षित गरेर माइन बिस्फोट गराइएको थियो भने आइतबार भीरबाट ढुंगा लडाउने र सानो हतियारबाट फायरिङ गर्ने काम भएको पुनका सहयोगीहरुले बताएका छन् । प्रहरीले भीरबाट ढुंगा लडाएर वर्षमानको गाडी रोक्ने तीन युवकलाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो रामचीबाट दुईखोलीतर्फ आमसभाका लागि हिँडेको वर्षमानको टोलीलाई भीरबाट ढुंगा लडाएर विप्लवका कार्यकर्ताले करिब २ घण्टासम्म बाटैमा रोकेका थिए । विप्लवका कार्यकर्ताले भीरबाट ढुंगा लडाएर गाडी रोकेपछि छोटो हतियारबाट फायरिङ गरेको पुनसँगै टोलीमा रहेका एक माओवादी कार्यकर्ताले जानकारी दिए । प्रहरीले जवाफी फायरिङ गरेर उनीहरुलाई धपाएको थियो ।

आक्रमणकारीलाई प्रहरीले भीर आसपासबाट सर्च गरेर पक्राउ गरेको हो । वर्षमान पुनको चुनावी टोलीमाथि दिनहुँ आक्रमणको प्रयास भइरहे पनि विप्लव समूहले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन । तर, आफ्नै मित्रशक्तिमाथि सिलसिलेवार रुपमा सांघातिक हमला हुन थालेपछि यस्तो घटना विप्लव समूहले नै गराइरहेको छ या उनका नाममा वाम गठबन्धन विरोधी शक्तिले गरिरहेको छ भन्नेबारे गम्भीर प्रश्न उठेको माओवादी केन्द्रका नेताहरुको भनाई छ ।

शनिबार वर्षमानको टोलीलाई तर्साउने नियतले नभई सखाप नै पार्ने नियतले शक्तिशाली माइन बिस्फोट गराइएको थियो भने आइतबार गोली हान्ने प्रयास भएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org