ताजा समाचार

मानसिक सन्तुलन गुमेका युवकले अन्धाधुन्द खुकुरी प्रहार गर्दा तीनजनाको हत्या

मकवानपुर, २९ कात्तिक । मकवानपुरमा खुकरी प्रहारबाट तीन जनाको हत्या भएको छ । महनगरी–७ सिमलडाँडाका सुमन बराइलीले अन्धाधुन्द खुकुरी प्रहार गर्दै तीनजनाको हत्या गरेका हुन् । बराइलीले स्थानीय ५२ वर्षीय सीताराम धितालको घरमै पुगेर खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

त्यसैगरी खुकुरी प्रहारबाट गम्भीर घाइते भएका धितालका छोरा सुदन र छिमेकी जीतबहादुर ब्लोनको उपचारका लागि भरतपुर लाँदै गर्दा बाटामै ज्यान गएको छ । बराइलीलाई घटनास्थलबाटै पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

यसरी भयो तीन जनाको एकै चिहानः
मंगलबार साँझ एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर तीन जनाको हत्या भयो । ३२ बर्षका सुमन बराइलीले गर्दनमा खुकुरी प्रहार गरी तीन जनाको हत्या गरे । घटनास्थल मनहरी बजारबाट १ किलोटिर पश्चिममा पर्छ ।

मृतकमध्ये एक हुन् ५२ बर्षीय सीताराम धिताल । उनको सानो एकतले, दुईपाखे फुसको घर छ । हर्नामाडीतिरबाट केही बर्षअघि मात्रै उनी बसाइँ सरेर आएका हुन् । उनी ज्याला मजदुरीका काम गर्थे । उनको घरभन्दा ५० मिटर दुरीमा एउटा अर्को चिटिक्कको घर छ । त्यो घर हो सुमन बराइलीको । सुमनको कान्छो छोरा र सीतारामको कान्छो छोराबीच केही महिनाअघि मात्रै मितेरी साइनो जोडिएको रहेछ ।

हत्यारा सुमन बराइली

३२ बर्षका सुमन र ५२ बर्षका सीताराम मित साइनोमा बाँधिए, छोराहरु मार्फत । सुमन केही बर्षयता असामान्य अबस्थामा रहेछन् । केही समय पहिले हेटौँडा लगेर उपचार गर्दा मानसिक रोगी भएकाले औषधी पनि खुवाइएको रहेछ । केहीदिनदेखि सुमन घरबाट हराएका थिए ।

उनलाई खोजेर सोमबार घर ल्याइयो । सुमन १ बर्षअघि मात्रै समिलडाँडामा बस्न आएका हुन् । कर्राबाट खोजेर ल्याइएका सुमन फेरि हराए र मंगलबार बिहानै फेरि खोजेर ल्याइयो । उनले आफ्नै मित, मित छोरा र बाटामा हिँडिरहेका छिमेकीलाई खुकुरी प्रहार गरी हत्या गरे ।

यसरी भयो हत्याः
मंगलबार साँझ काम सकेपछि सीताराम सुमनको घरमा गए । घरमा बस्नु, काम गर्नु भनेर सम्झाउन उनी गए । सुमन भने चुरियामाईले बोलाको छ भन्दै बिहानैदेखि असामान्य भाषा बोल्दै थिए । यत्तिकैमा घरको आँगनमा मित सीतारामलाई खुकुरी हाने । मितको आधाभन्दा बढी गर्दन काटियो, त्यहीँ ढले । बुवालाई खुकुरी हानेको देखेर दौडेर सीतारामका छोरा सुदन आइपुगे ।

छोरालाई पनि त्यसैगरी गर्दनमै खुकुरी प्रहार गरे। त्यसपछि नांगो खुकुरी नचाउँदै बाटैबाटो सुमन हिँडे । बाटोमा हिडिरहेकी दाईकी छोरी रोशनीलाई पनि खुकुरी प्रहार गरे । तर रोशनी डरले कान्लाबाट लडिन्, खुकुरीको चुच्चाले उनको लुगा अलिकति च्यातियो । गाउँलेहरुको भागाभाग भयो ।

वृद्धलाई बाटोमै खुकुरी प्रहारः
एकजना बृद्धा जीतबहादुर ब्लोनलाई सुमनले बाटोमा भेट्यो ।सबैजनाले ब्लोनलाई भाग्न भने । तर उनले कान नसुन्ने रहेछन् । उनको आँखा पनि कमजोर रहेछ । सुमनले ब्लोनलाई पनि गर्दनमै खुकुरी प्रहार गर्छ, ब्लोन बाटामै ढल्छन् । खुकुरी लिएर प्रहार गर्दै हिँडेका सुमनलाई युवाहरुले पछ्याए । तर उल्टै सुमनले खुकुरी ताकी ताकी युवाहरुलाई लखेटे ।

नांगो खुकरी लिएर धमाधम हत्या गर्न थालेपछि स्थानीय कसैले घटनाको जानकारी फोनमार्फत प्रहरीलाई गराए । प्रहरी निरीक्षक चित्रबहादुर घलेसहितको टोली घटनास्थल आइपुग्छ ।प्रहरीसहित गाउँले मिलेर सुमनलाई लखेट्छन् । तर, उल्टै प्रहरीलाई समेत सुमनले लखेट्न खोज्छ । घलेले प्रहरी उपरिक्षकलाई फोन गरेर गोली हान्ने आदेश माग्छन् । गोली हान्नु भन्ने जवाफ अउँछ । तर, गाउँलेले हानेको ढुंगा लागेर सुमन लड्न पुग्छ । प्रहरीले उनलाई पक्राउ गर्छ ।

मानसिक सन्तुलन गुम्दाको परिणामः
प्रारम्भिक अनुसन्धानबाट यो नितान्त मानसिक सन्तुलन गुम्दाको परिणाम हो भन्ने निष्कर्ष निकालिएको छ । प्रहरी कार्यालयमा सुमनसँग कुरा गर्दा उनी बेहोसीकै कुरा गर्छन् । उताबाट आएका मान्छेले मेरो आमाबुवा, बुढी, छोराछोरी सबै मारे भन्छन् । उता भनेको कता भनेर प्रश्न गर्दा उनी भन्छन् । गढीमाईबाट मलाई यस्तो आदेश आएको भन्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org