ताजा समाचार

निर्वाचन कार्यालयको यस्तो जुक्तिः घरमा नभेटिएपछि धानबारीमै मतदाता शिक्षा

धादिङ, ३० कात्तिक । धादिङमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न टोली खटाइएको छ । अन्नबाली भित्र्याउने समय भएकाले मतदाता घरमा नभेटिएपछि खेतमा नै गएर मतदाता शिक्षा प्रदान गरिएको छ ।

मंसिर महिना ‘मानो खाएर मुरी भित्र्याउने’ समयमा सबै किसानले खेतमा धान काट्ने र भित्र्याउने समय परेकाले घरमा नभेटिएका मतदातालाई खेतबारीमै गएर शिक्षा दिइएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदर हुन नदिन जिल्ला निर्वाचन कार्यालयले जिल्लाका स्वयंसेवक, सामाजिक परिचालकलाई मतदाता शिक्षाका बारेमा तालीम प्रदान गरेको थियो । तालीमपश्चात् टोली गाउँगाउँमा खटिएका छन् ।

“निर्वाचनको समय छोटो छ, सबैलाई मतदाता शिक्षाका बारेमा जानकारी दिन सकिँदैन कि भनेर काम गरिरहेकै ठाउँमा गएर मतदाता शिक्षाको बारेमा जानकारी गराउँदै हिँडेका छौँ”, स्वयंसेवक शोभा लम्सालले बताउनुभयो । नीलकण्ठ नगरपालिका–९ मा खटिनुभएकी स्वयंसेवक शोभा भन्नुहुन्छ, “मतदातालाई मंसिरको चटारो छ, घरमा कोही भेटिन्नन् खेतखेतमा खोज्दै हिँड्नुपर्छ धेरै समस्या भएको छ ।”

मतदाता शिक्षाका लागि जिल्ला निर्वाचन कार्यालयले जिल्लाका प्रत्येक स्थानीय तहमा स्वयंसेवक खटाएको छ । निर्वाचनका लागि धादिङ जिल्लामा २७५ मतदान केन्द्र र १०९ मतदानस्थल निर्धारण गरिएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org