ताजा समाचार

आखिर कसले गर्दैछ ? उम्मेदवार लक्षित शृंखलाबद्ध बम आक्रमणः ७ दिनमा ७ नेता निशानामा

काठमाडौं, १ मंसिर । यतिबेला उम्मेदवार लक्षित गर्दै शृंखलाबद्ध बम आक्रमण भईरहेका छन् । मंसिर १० र २१ को प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारमाथि शृंखलाबद्ध बम आक्रमण भईरहेको हो । विशेषगरी माओवादी केन्द्रका नेता तथा उम्मेदवार बम आक्रमणको बढी शिकार भईरहेका छन् ।

माओवादीसँगसँगै नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवार पनि यो आक्रमणबाट बच्न समेका छैनन् । तर यतिबेला सम्म भएका आक्रमणबाट मानवीय क्षति भने हुन पाएको छैन् । घटनामा संलग्न भएको आरोपमा केही व्यक्ति पक्राउ परे पनि प्रहरीले आक्रमणकारी समूहको पत्तो लगाउन सकेको छैन ।

यद्यपि, प्रहरीको शंका चुनावविरोधि गतिविधि गर्दै आएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेको छ । उक्त पार्टीका केन्द्रीय सदस्य केशबहादुर बाँठा भने आफूहरुको नाममा तेस्रो पक्षले फाइदा लिइरहेको दाबी गर्दै आईरहेका छन् । उनी भन्छन्, ‘हामी शान्तिपूर्ण विरोधमा छौं ।’

एक सातामा ७ नेता आक्रमणकारीको निशानामाः
२४ कात्तिकमा गृहमन्त्रीबाट विनाविभागीय बनेका तथा वाम गठबन्धनबाट पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्मा चढेको गाडीमाथि दुई वटा बम प्रहार भयो ।त्यसको भोलिपल्ट माओवादी नेता तथा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी माइन विष्फोट गराइयो । २६ कात्तिकमा उनीमाथि फेरि आक्रमण भयो ।

उनी सडकमा हिँडिरहेका बेला माथिपट्टिबाट एक समूहले ढुंगा खसाएको थियो । त्यसक्रममा प्रहरी र आक्रमणकारीबीच दोहोरो फायरिङसमेत भयो । २८ कात्तिकमा एकै दिन तीन नेतालाई लक्षित गरी बम प्रहार भयो । म्याग्दीको बेनी नगरपालिकामा कांग्रेसको चुवानी अभियानलाई लक्षित गर्दै बम विष्फोट गराइएको थियो ।कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खम्बिर गर्बुजा उक्त कार्यक्रममा सहभागी थिए ।

भोजपुरमा पनि एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम प्रहार भयो । घटनामा उनका अंगरक्षक डिल्ली देवकोटा घाइते भए । सुरक्षागार्डले राईको सुरक्षार्थ २१ राउण्ड गोली समेत चलायो । सोही दिन संखुवासभामा प्रतिनिधिसभामा एमालेका उम्मेदवार राजेन्द्र गौतमलाई पनि लक्षित गरी विस्फोट गराइयो ।

३० कात्तिकमा रोल्पाबाट कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार तथा सिँचाइ राज्यमन्त्री अमरसिंह पुन र गोरखा २ बाट प्रतिनिधि सभा उम्मेदवार तथा माओवादी नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम विष्फोट गराइयो । त्यस्तै आज (शुक्रबार) नेवाकोटमा नेपाली कांग्रेसका नेता तथा उम्मेदवार डा. रामशरण महतमाथि प्रेशर कुकर बम आक्रमण भएको छ । ककनी गाउँपालिका–५ डाडाँगाउँमा चुनावी प्रचारमा जाने क्रममा प्रेशर कुकर बम आक्रमण भएको हो । आक्रमणबाट कांग्रेसका चार जना गम्भीर घाइते भएका छन् ।

शृंखलाबद्ध विष्फोटका क्रममा ठूलो क्षति भने हुन पाएको छैन । घटनालाई प्रहरीले चुनाव भाँड्ने प्रयासको रुपमा विश्लेषणा गरेको छ । एक प्रहरी अधिकारी भन्छन्, ‘घटनाको प्रकृति हेर्दा तर्साएर चुनाव भाँड्ने नियत देखिन्छ ।’

विप्लव प्रहरीको निशानामाः
प्रहरीले चुनावविरोधी विप्लव समूहको गतिविधिलाई निगरानीमा राखेको छ । बम आक्रमणको क्रम भने रोकिएको छैन ।चुनावविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले हालसम्म एक सय ३६ जनालाई पक्राउ गरेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org