ताजा समाचार

गाउँमा खानेपानी ल्याउन वडाध्यक्षले ४० लाख बराबरको आफ्नै जग्गा धरौटी राखे

पोखरा, ४ मंसिर । गाउँमा खानेपानी ल्याउन वडाअध्यक्षले आफ्नो जनिम धरौटीमा राखेका छन् । पोखरा महानगरापलिकाको वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यले खानेपानी योजनाको लागि धरौटी बाफतको ४० लाख अपुग भएपछि जग्गा धरौटी राखेका हुन् ।

भरतपोखरी—निर्मल पोखरी–कृस्ती सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका लागि उपभोक्ताका तर्फबाट धरौटी राख्न तत्काललाई नपुगेको ४० लाख रुपैयाँ वडाध्यक्ष आचार्यले हालेका हुन् । उक्त रकम हाल्न वडाध्यक्ष आचार्यले महानगरपालिका ३१ बेगनासताल नजिकैको १० आना घडेरी बिरुवा बचत तथा ऋण सहकारी संस्थामा धितो राखेका हुन्।

गाउँका लागि निजी जमिन धितो राखेर उनले पैसा निकालेको यो पहिलोपटक होइन। यसअघि पनि गाउँकै अर्को खानेपानी आयोजनाको अध्यक्ष रहिसकेका उनले भने, ‘पोखरा–१७ दोबिल्लाबाट निर्मलपोखरी गाउँसम्म साढे ४ किलोमिटर बाटो लैजाँदा पनि घर धितो राखेर डोजर लगेको थिएँ।’

खानेपानीका लागि सरकारले ल्याएको सहलगानीको अवधारणामा पोखरा २१ र ३३ का ती गाउँमा खानेपानी आयोजना सुरु हुँदैछ। २ हजार ७९ घरमा एकरएक धारा पुर्‍याउने गरी सुरु हुन लागेको आयोजनाका लागि उपभोक्ताले खानेपानी तथा ढल निकास विभाग मातहतको क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयसँग सम्झौता गर्नुपर्ने थियो।

३० करोड रुपैयाँको आयोजना सम्झौताका लागि उपभोक्ताका तर्फबाट १ करोड ५० लाख जुटाउनुपर्नेमा नपुगेको ४० लाख रुपैयाँ वडाध्यक्षले आफ्नै जग्गा धितो राखेर निकालेको आयोजनाका अध्यक्ष दाताराम शर्माले जानकारी दिए।

नपुग पैसा त्यसरी जुटाइएपछि उनै वडाध्यक्ष आचार्य र वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्य साक्षी रहेर आयोजनाका अध्यक्ष दाताराम शर्मा र खानेपानी तथा ढल निकास विभागअन्तर्गतको क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका नन्दलाल बन्जाडेले बिहीबार सहमतिपत्रमा हस्ताक्षर गरे।

सहलगानीको अवधारणा अनुसार उपभोक्ताले ५ प्रतिशत संकलन गर्नुपर्ने भएको हुँदा प्रत्येक घरधुरीबाट १५ हजार रुपैयाँका दरले उठाइएको आयोजनाका अध्यक्ष शर्माले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org