ताजा समाचार

चुनढुंगा र फलामखानीको उत्खनन गरिने

पाल्पा, ७ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले पाल्पा जिल्लामा चुनढुंगा खानीको प्रचुर सम्भावना भएकाले त्यसलाई उत्खनन गरिने बताउनुभएको छ । एउटा खानीबाट मात्र दैनिक छ हजार मेट्रिक टन चुनढुंगा निकाल्दा मात्र १५० वर्षसम्मलाई पुग्न सक्ने भएकाले त्यसको प्रयोगबाट जिल्लाको आम्दानीको स्रोत बढाउन सकिने उहाँको भनाइ छ । चुनढुंगा सिमेन्ट बनाउनका लागि प्रयोग गरिन्छ ।

उहाँले आशन्न निर्वाचनमा वाम गठबन्धनले जितेमा जिल्लाको गोठादी, रहबास र ज्यामिरेमा चुनढुंगा उद्योग खोल्ने जनाउनुभयो । पाल्पाको तिनाउ गाउँपालिकाभित्रका विभिन्न वडा र रैनादेवी छहरा गाउँपालिकाको सिद्धेश्वरबाट दैनिकरुपमा रुपन्देही र नवलपरासी जिल्लामा चुनढुंगा निकासी हुँदै आएको छ ।

चुनढुंगाको अलवा सिद्धबाबाको ढुंगालाई निर्माण कार्यमा प्रयोग गर्न सकिने अनुसन्धानले देखाएको छ । पाल्पामा फलामखानीको पनि सम्भावना रहेको अध्ययन र अनुसन्धानले देखाएको छ । तिनाउ गाउँपालिकाको कोलडाँडास्थित विष्णुडाँडामा फलाम र तामाखानी रहेको मानिन्छ । पाल्पा र नवलपरासी जिल्लाको सीमावर्ती क्षेत्रमा समेत फलामखानी रहेको पाण्डेयले बताउनुभयो ।

पाल्पा निर्वाचन क्षेत्र नं २ अन्तर्गत रैनादेवी छहरा गाउँपालिकाको विकट मानिएका बल्ढेङ्गढी, जुठापौवा, सत्यवतीलगायत क्षेत्रको विकास गर्ने उहाँले बताउनुभयो । तानसेनको चहलपहल घटेको र अहिले फेरि चहलपहल हुने गरी विकास गर्ने योजना अघि बढाउने उहाँले बताउनुभयो । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org