ताजा समाचार

मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो

धादिङ, ९ मंसिर । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित गजुरी पीडामावि मतदान केन्द्र नजिकै आज सकेट बम फेला परेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राखेको सो बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

मतदान केन्द्र नजिकै ३०० मिटर पर मानिस हिँड्ने बाटोमा बिहान बम भेटिएपछि प्रहरी र सेनालाई खबर गरिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

बम निष्क्रिय पारेपछि सो क्षेत्रमा सेना परिचालन गरिएको छ । यसैबीच मतदातालाई सुरक्षितरुपमा मतदान गर्न आउन र जिल्लाभर नै सुरक्षाको प्रत्याभूति गरिएकाले निर्धक्क मतदान गर्न आउन प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले आग्रह गर्नुभएको छ ।

निर्वाचनको तयारी सकिएकाले मतदानपछि १२ मतदानस्थलका १७ मतदान केन्द्रका ५१ वटा मतपेटिका हेलिकप्टरबाट ढुवानी व्यवस्था मिलाइएको पनि भण्डारीले जानकारी दिनुभयो ।

यसैबीच निर्वाचन आयोगका आयुक्त इला शर्माले आज धादिङको अनुगमन गर्दै निर्वाचन तयारीबारे जानकारी लिनुभएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org