ताजा समाचार

बिहान १० बजेसम्म २५ प्रतिशत मत खस्यो

काठमाडौं, १० मंसिर । पहिलो चरण अन्तर्गत आज विहानदेखि ३२ जिल्लामा सुरु भएको मतदानमा १० बजेसम्म २५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार उच्च हिमाली क्षेत्रका मतदान केन्द्रहरुमा चिसोका कारण केही समय ढिलो मतदान सुरु भएको छ ।

अन्य मतदान केन्द्रहरुमा भने शान्तिपूर्ण रुपमा समयमै मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रहरुमा मतदान सुरु भएको छ । मतदान साँझ पाँच बजेसम्म जारी रहनेछ ।

पहिलो चरणमा आज प्रदेश नम्बर १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङमा मतदान भइरहेको छ । यस्तै प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नम्बर ५ का रुकुम पूर्वी भाग र रोल्पामा मतदान भइरहेको छ ।

प्रदेश नम्बर ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी रहेको छ । पहिलो चरणको यस निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org