ताजा समाचार

सिउँदोमा सिन्दुर पहिरिएको ७२ घण्टामै नबिन संगै प्राण त्यागिन् इन्सपेक्टर अनिताले

काठमाडौं, १० मंसिर । न रहरले जन्मियौ हामी, न रहरले मरेरै हो जानी जिन्दगानीमा, तेरो मेरो भन्नु नै के छ र मरी जानीमा । विमलराज क्षेत्रीले भनेजस्तै न जन्म नै रहरले हुन्छ न मृत्यु नै । यस्तै भएको छ रुकुममा । सिस्ने गाउँपालिका ६ का २९ वर्षीय नवीन श्रेष्ठ र इटहरी उपमहानगरपालिका १७ बालग्रामकी अनिता प्रधानको पेसा एउटै, नेपाल प्रहरी ।

दुवैको दर्जा पनि उही प्रहरी निरीक्षक । नवीन ६ नम्बर प्रदेशको सुर्खेतमा कार्यरत थिए भने अनिता प्रदेश २ को रौतहटमा कार्यरत थिइन् । नवीनले सुर्खेतमा ट्राफिक प्रमुखको जिम्मेवारी भर्खरै सम्हालेका थिए भने अनिता जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत थिइन् ।

केही वर्ष अघिदेखि चिनजानमा रहेका उनीहरुको मंसिर ६ गतेयता पेशामात्रै एउटै भएन घर, परिवार र मन मुटुसमेत एउटै भयो । बालग्राममै मंसिर ६ गते बुधबारका दिन बिहे गरेका दम्पती रुकुम पूर्वस्थित सिस्ने गाउँपालिका–६, रुकुमकोटमा रहेको घर भित्रिन र खुसी साट्न पुगेका थिए ।

उनीहरुले वैवाहिक जीवन सुरुआत भएको ३ दिन र घरमा हाँसीखुसी साथ टिकाटाला गरेर फर्केको ३ घन्टा नपुग्दै सँगै संसार त्यागे । एउटै पेशा, एउटै घर बनाएका प्रहरी निरीक्षक दम्पतीको चिता पनि एउटै बन्न पुगेको छ ।

शुक्रबार रुकुम पूर्वका सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गर्दा भएको जिप दुर्घटनामा प्रहरी नवविवाहित दम्पतीसहित अन्य ५ जनाको मृत्यु भएको कान्तिपुरले खबर छापेको छ । ग १ ज ४२६० नम्बरको जिप मुसीकोट नगरपालिका–६ को कालिमाटीमा दुर्घटना हुँदा नवीनको घटनास्थलमा र अनिताको उपचारको लागि जिल्ला अस्पताल सल्ले लिँदै गर्दा बाटोमा मृत्यु भएको हो । विहेपछि माइतीघरबाट बिदा गरी घरतर्फबाट पनि बिदा भएर कार्यक्षेत्र फर्कन भनेर उनीहरु बेलुकी रुकुमकोटबाट गाडी चढेका थिए ।

माइतीघरबाट ७ गते बेलुका मात्रै घर पुगेका उनीहरु ८ गते दिउँसो घरपरिवार र आफन्तसँग टिकाटालो गरेर गाडीमा रुकुम पश्चिमको सदरमुकाम खलंगा फर्केका हुन् । उनीहरु विहेको टिका खस्न नपाउँदै दुर्घटनामा परेका हुन् ।

एकै परिवारका ३ जना

दुर्घटनामा प्रहरी निरीक्षक श्रेष्ठका अन्य आफन्तको पनि मृत्यु भएको छ । मुसीकोट नगरपालिका–१, मठका शेरबहादुर श्रेष्ठ, उनकी छोरी सुरेखा शाह र छोरा सुधन श्रेष्ठको पनि घटनास्थलमै मृत्यु भएको छ । शेरबहादुरका माइती पक्षका जनक शाहको पनि मृत्यु भयो भने त्रिवेणी गाउँपालिका–१, की यमुना मल्लको पनि घटनास्थलमै मृत्यु भएको छ ।

जनक भलिबलका पूर्वराष्ट्रिय खेलाडी तला हालका राष्ट्रिय रेफ्री हुन् । सुरेखा र यमुना आजको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको निम्ति मुसीकोट नगरपालिका–७, को जनजागृति माविको क मतदान केन्द्रमा खटिएका थिए । दिनभर मतदान केन्द्र निर्माणमा जुटेका उनीहरु बेलुका घर फर्कनलाई सोही गाडीमा चढेका थिए । उनीहरु चढेको केही मिनेटमै गाडी दुर्घटना भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org