ताजा समाचार

अर्थमन्त्री कार्की श्रीलंका टप्पु क्षेत्रका मतदातासँग भोट माग्दै

इटहरी, १० मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको कोशीपारिको श्रीलंका टप्पु क्षेत्रका मतदातासँग आज भेटघाट गर्नुभएको छ । मन्त्री कार्कीले स्थानीय प्रशासनको पहुँचबाट अगल रहँदै आएका सो क्षेत्रका मतदाताले भोग्दै आएका समस्याबारे जानकारी लिनुभएको हो ।

उदयपुरको रामपुर ठोक्सिलादेखि दक्षिण तथा कोशी ब्यारेजदेखि उत्तर सुनसरीको पर्यटकीय क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षदेखि पश्चिमको बस्तीमा चुनावी भेटघाटको कार्यक्रम लिएर पहिलोपटक पुग्नुभएका उहाँले श्रीलंका टप्पुवासीले झेल्दै आएका समस्यालाई समाधान गर्न पहल गर्ने बताउनुभयो ।

विसं २०४५ भदौ ५ मा उदयपुरको मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी भूकम्पछि भोलिपल्टै भदौ ६ गते सप्तकोशी नदी चतराबाट पूर्वतिर हान्निएपछि उदयपुरको बसाहा पूर्वपट्टि र सप्तकोशी नदीको पश्चिमपट्टिको बस्ती टप्पुमा परिणत भएको हो । स्थानीय प्रशासनको पहुँचबाहिर रहेको बराह नगरपालिका– ९ को श्रीलंका टप्पुमा झण्डै एक हजार १०० घर परिवारको बसोबास रहेको छ । मन्त्री कार्कीसमक्ष श्रीलंका टप्पुका स्थानीयवासीले हरेक वर्ष जङ्गली हात्ती, संरक्षित अर्ना बँदेलबाट मारमा पर्ने गरेको गुनासो गरेका थिए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org