ताजा समाचार

सर्लाही ४ का माओवादी उम्मेदवार शिवपुजनको उम्मेदवारी खारेज, अब को-को भिड्ने ?

काठमाडौं, ११ मंसिर । सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा यादवको उम्मेदवारी खारेज गरेको हो । उनीविरुद्ध स्वतन्त्र उम्मेदवार गणेशकुमार सिंहले जिल्लामा र अनिलकुमार सिंहले निर्वाचन आयोगमा कात्तिक १९ गते उजुरी दिएका थिए । आयोगले आफ्नो उजुरी सुनुवाइ नगरेको भन्दै उनीहरु सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले यो मुद्दामा कारण देखाउ आदेश जारी गर्दै आयोगसँग लिखित जवाफ मागेको थियो ।

सर्वोच्चलाई जवाफ पठाउनुअघि नै आयोगले शनिबार शिवपुजनको उम्मेदवारी खारेज गरेको हो । यादवको उम्मेदवारी खारेज भएको सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिए । उनले भने, उहाँको उम्मेदवारी खारेज भएको छ । अब यो क्षेत्रमा वाम गठबन्धनको उम्मेदवार नै नहुने भयो ।’

पहिलो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सभासद रहेका रायलाई कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । त्यसविरुद्ध परेको पुनरावेदन सर्वोच्चमा अझै विचाराधीन छ ।

निर्वाचन आयोगले सर्वोच्चमा मुद्दा विचाराधीन रहँदा नै तनहुँ १ मा गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरेको थियो । जोशीलाई विशेष अदालतले भ्रष्टाचारको मुद्दा दोषी ठहर गरेको थियो । तर, सर्वोच्चमा मुद्दा विचाराधीन छ । यादवको उम्मेदवारी खारेज भएसँगै अब सर्लाही-४ मा कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्र उम्मेदवार छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org