ताजा समाचार

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आफ्नै श्रीमतीलाई मतदान नगर्ने

प्यूठान, १४ मंसिर । नेकपा (मसाल) का अर्धभूमिगत महामन्त्री मोहनविक्रम सिंहले आफ्नै पत्नीलाई मत नदिने भएका छन् । सिंहपत्नी दुर्गा पौडेल प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार छन् । राजमो मसालको खुला सङ्गठन हो । उनीसँग लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रा. डा . गोविन्दराज पोखरेल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेता सिंहले आफूले विसं २०१५ को निर्वाचनमा उम्मेदवार हुँदा पनि आफैँलाई मतदान नगरेको बताए । सिंह पहिलो पटक विसं २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर ५ प्यूठानबाट नेपाल कम्युनिष्ट पार्टीबाट सांसदमा उम्मेदवार थिए । त्यसपछिको संसदीय र स्थानीय निर्वाचनमा पनि मतदान नगरेको नेता सिंहले सुनाए ।

त्यसबेला एक हजार २०० मत अन्तरले हारेका थिए । पराजित गरी काँग्रेसका पुरुषोत्तम अधिकारी पहिलो संसदीय निर्वाचनमा प्यूठानबाट सांसद बनेका थिए । “सार्वजनिक कार्यक्रम र टेलिभिजन जस्ता दृश्य सञ्चारमाध्यममा प्रस्तुत नहुने भएकाले म अहिले पनि अर्धभूमिगत छु, पार्टी कार्यकर्ता र पत्रकारसँग चाहिँ कुरा हुन्छ”, उनले भने ।

धेरै कम्युनिष्ट नेताका गुरु सिंह देशको आवश्यकता पूर्ति गर्न अझै आफू अर्धभूमिगत रहेको बताउँछन् । धेरै प्यूठानीलाई राजनीतिक प्रशिक्षण दिएका सिंहलाई यहाँका सामान्य मानिसले पनि गुरु भनी सम्बोधन गर्छन् ।

“अर्धसामन्ती एवं अर्धऔपनिवेशिक अवस्था रहेसम्म म अर्धभूमिगत रहन्छु, साम्यवादी जनसत्ता स्थापनाका लागि लामो संघर्ष गर्नुपर्छ, यसका लागि म लामो समयदेखि लागेको छु”, सिंहले भने । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org