ताजा समाचार

युएईमा अष्टमी गुरुङको आत्महत्या प्रकरणः नेपाली दूतावासले कानूनी प्रक्रिया अघि बढायो

युएई, १४ मंसिर । युएईमा एक नेपाली महिलाको मृत्यु प्रकरणमा नेपाली दूतावासले कानूनी प्रक्रिया अघि बढाएको छ । आबुधाबीस्थित नेपाली दूतावासले कुटनैतिक ‘च्यानल’मार्फत कानूनी प्रक्रिया अघि बढाएको हो ।

आबुधाबीमा रहेको अरबियन गल्फ क्लिनिङ कम्पनीमा कार्यरत गोरखा आरुघाट २ की अष्टमी गुरुङको शव कात्तिक १८ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको थियो । अष्टमीले आत्महत्या गर्नुको कारणबारे केही व्यक्तिलाई आरोप लगाउँदै रेकर्ड गरेको भिडियो भेटिएपछि घटनाबारे थप अनुसन्धान सुरु गरिएको हो ।

सुपरभाइजरले इज्जत लुटेपछि परिवार र साथीभाइका अगाडि लज्जित हुनुपरेकोले यो संसारबाट बिदा हुन लागेको भनेर आत्महत्या गर्नुअघि अष्टमीले आफ्नै मोवाइलमा भिडियो खिचेकी थिईन् । जुन भिडियो उनको शव नेपाल ल्याएर दाहसंस्कार गरेपछि उनका भाइले फेला पारेका थिए ।

मोवाइलमा भेटिएको भिडियो सार्वजनिक भएपछि अष्टमीले मृत्युपछि न्याय पाउनुपर्ने भन्दै धेरैले चासो देखाएका छन् । तर, स्थानीय प्रशासन र अस्पतालको रिपोर्टमा गुरुङले आत्महत्या गरेको उल्लेख छ ।

युएई तथा अन्य देशमा रहेका नेपाली संघसंस्थाले सामाजिक सन्जाल तथा सम्बन्धित निकाय मार्फत चासो देखाएका हुन् । एनआरएन युएई, जनप्रगतीशिल मञ्च, नेपाली समाज युएई, तमु समाज लगायत अन्य संघसंस्थाले आबुधाबीमा रहेको नेपाली दूतावासलाई घटनाबारे ध्यानाकर्षण गराएका छन् ।

हत्याका आरोपी भनिएका बंगलादेशी नागरिक सिमजोन काजी

मृतकले रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि दूतावासले अनुसन्धान प्रक्रिया समेत अघि बढाएको छ । गएको आइतबार साँझ सार्वजनिक भएको भिडियोबारे दूतावासले सोमबार बिहानै यहाँको स्थानीय प्रशासन तथा अन्य निकायमा अनुसन्धानका लागि प्रक्रिया सुरु गरेको हो ।

दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्की, द्वितीय सचिव विष्णु अधिकारी र जनसम्पर्क अधिकृत (पिआरओ) इरफान आलमले आबुधाबीको प्रहरी हेडक्वाटर पुगेर सार्वजनिक भएको भिडियोबारे जानकारी गराएका थिए । प्रशासनले घटनाबारे प्रक्रिया सुरु गर्ने जनाएको छ । प्रशासनकै अनुरोधमा दूतावासले त्यसै दिननै युएईको परराष्ट्र मन्त्रालयमा समेत पत्र लेख्दै घटनाबारे जानकारी गराएको छ ।

भिडियो सार्वजनिक भए लगत्तै दूतावासका अर्का पिआरओ रजी अहमदलाई दूतावासले कम्पनीमा पठाएको थियो । नेपाली चेली अष्टमी गुरुङलाई बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई तत्काल युएई छाड्ने अनुमति नदिन कम्पनीलाई सचेत गरिएको छ । त्यस्तै, आरोपितलाई युएई छोडेर जान नमिल्ने गरी सबै अध्यागमनमा रोक लगाइदिन पनि सम्बन्धित निकायमा पत्राचर गरिएको दूतावासले जनाएको छ ।

नेपालबाट पनि मृतकका परिवारले कन्सुलर विभागमा निवेदन दिने र भेटिएको भिडियोलाई अरबिक भाषामा अनुवादन गरेर युएई पठाउन दूतावासले अनुरोध गरेको छ । घटनाबारे अनुसन्धान गर्न आवश्य पर्ने प्रमाण जुटाउन दूतावासले समन्वय गरिरहेको प्रवक्ता एवं द्वितीय सचित कृष्ण अर्यालले जानकारी दिए ।

अष्टमी गुरुङले आत्महत्या गर्नुको कारण एक बंगलादेशी नागरिक भएको भन्दै सामाजिक सञ्जालहरुमा नेपाली नागरिकहरुले आक्रोश पोखेका छन् । गुरुङलाई बलत्कार गर्ने भनिएकाको फोटो सामाजिक सञ्जालहरुमा राखेर गाली गरिएको छ । अष्टमी कार्यरत कम्पनीका सुपरभाइजर सिमजोन काजी नाम गरेका व्यक्तिलाई हत्याराको आरोप लगाएर सञ्जालमा टीकाटिप्प्णी गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org