ताजा समाचार

भारतीय बैंकले मतदाता परिचयपत्र अनिवार्य गरेपछि भारतीय पेन्सन लिने नेपाली समस्यमा

बैतडी, १७ मंसिर । भारतीय बैंकले मतदाता परिचयपत्र अनिवार्य गरेपछि सयौँ भारतीय पेन्सन लिइरहेका नेपाली समस्यामा परेका छन् ।मतदाता परिचयपत्र नबनाएका भारतीय पेन्सन धारी नेपालीलाई अहिले समस्या भएको छ । भारतीय बैंकले डिसेम्बर १५ तारिखभित्र कागजात बुझाउन सूचना जारी गरेको छ । भारतीय बैंकले सबैको पेन्सन खाता अद्यावधिक गर्न लागेको छ । भारतीय नागरिकको पनि नागरिकतासँगै आधारकार्डलगायतका अन्य पहिचान खुल्ने कागजात खोजेको छ । नेपाली नागरिकलाई नागरिकतासँगै मतदाता परिचयपत्र मागेको हो ।

मासिकरुपमा निकासा हुने भए पनि उनीहरुले चार/पाँच महिनाको फरकमा भारतीय बैंकबाट झिक्ने गरेका छन् । परिचयपत्र नहुँदा खाता नवीकरण गर्न नसकेको भारतको बंगाल प्रहरीबाट सेवानिवृत्त दशरथचन्द– ७ का रामदत्त बडूकी श्रीमती कमलादेवी बडूले बताउनुभयो ।“परिचयपत्र बनाउन टोली आएका बेला ध्यान पुगेन, अन्य समयमा आवश्यक भएन”– उहाँले भन्नुभयो, “बैंकले मतदाता परिचयपत्र नभएसम्म मान्दैन ।

” नाम फरक परेका, विवरण नमिलेका लगायतका समस्या जिल्ला प्रशासन कार्यालयको सिफारिशका आधारमा सुल्झिदै आएका थिए । यसपटक मतदाता परिचयपत्र खाजेकाले समस्या परेको हो । भारतीय सेना, प्रहरीमा कार्यरत श्रीमान्को पेन्सन लिने अधिकांश महिलाको मतदाता परिचयपत्र लिएका छैनन् । निर्वाचन नसकिएसम्म नयाँ परिचयपत्र बनाउन नाम दर्ता गर्न नसकिने भएकाले तत्काल केही गर्न नसकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दिनहुँ समस्या लिएर आउनेको संख्या बढेकाले गृह मन्त्रालय र निर्वाचन आयोगलाई जानकारी पठाउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बताउनुभयो ।

प्रदेश नं ७ का बैतडी, डडेल्धुरा, दार्चुला र कञ्चनपुरमा भारतीय सेना र प्रहरीबाट पेन्सन सुविधा लिने दुई हजार बढी छन् । मतदाता परिचयपत्र नबुझाएसम्म पेन्सन रोकिनसक्ने जिल्ला सैनिक बोर्डले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपश्चात् निर्वाचन आयोगले निर्देशन दिएपछि मात्रै मतदाता नामावली संकलन कार्य हुनसक्छ जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले बताउनुभयो । उहाँले भन्नुभयो, “तत्काल मतदाता नामावली संकलन गर्नेबारे केही निर्णय भएको छैन ।” रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org