ताजा समाचार

समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनलाई बहुमत दिनुपर्छ : महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा

काठमाडौँ, १८ मंसिर । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापाले मुलुकमा आर्थिक विकास र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनलाई बहुमत दिन जनतालाई आग्रह गर्नुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा संयुक्त लोकतान्त्रिक गठबन्धनले आज बालाजुमा आयोजना गरेको चुनावी सभामा मन्त्री थापाले देशमा राजनीतिक अस्थिरताको अन्त्य गरी जनतालाई आर्थिक पहुँच विस्तार गर्न विभिन्न योजना र दृष्टिकोण लोकतान्त्रिक शक्तिसँग भएको जिकिर गर्नुभयो ।

देशमा वैदिक सनातन हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था कायम गर्ने पार्टीको सिद्धान्तलाई कार्यान्वयन गर्न निर्वाचनमा जनताले सो गठबन्धनलाई जिताउन खाँचो रहेको उहाँले प्रस्ट पार्नुभयो । मन्त्री थापाले विभिन्न समयमा भएका परिवर्तनलाई संस्थागत गरी देशमा सामाजिक रुपान्तरणका लागि उक्त गठबन्धनलाई जनताले विश्वास गरी मतदान गर्नुपर्नेमा जोड दिनुभयो । उक्त क्षेत्रको ग्रामीण भागमा करिब चार हजार भूकम्प प्रभावितलाई सरकारले दिने भनेको रु तीन लाख उनीहरूले प्राप्त गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै सो रकम चाँडो उपलब्ध गराउने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

प्रदेश १ का उम्मेदवार विजयबहादुर मालीले स्थानीय पूर्वाधार विकास तथा निर्माणमा तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाबीच समन्वय र सहयोगको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो । प्रदेश २ का उम्मेदवार धर्मराज अर्यालले स्थानीय नागिनी खोलादेखि लोलांग पिपलबोटसम्मको सडक स्तरोन्नति, आठ माइल डाडागाउँको विकास गरी पर्यटन क्षेत्र विकास गर्नेलगायत कार्य प्राथमिकतामा रहेको प्रस्ट पार्नुभयो । माली र अर्याल दुवै नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।

काठमाडौँ महानगरपालिका–१६, १७, १८ र २५, तारकेश्वर नगरपालिका–३, ४ र ५ तथा नागार्जुन नगरपालिकाका–१, २ र ३ वडा यस क्षेत्रमा कायम गरिएको छ भने ५७ हजार ५८८ मतदाता छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org