ताजा समाचार

निर्वाचनलाई लक्षित गरी भारतसँगका सीमा नाका ७२ घण्टाका लागि सिल, सुरक्षा व्यवस्था कडा

काठमाडौं, १९ मंसिर । बिहीबार हुने दोस्रो चरणको निर्वाचन सुरक्षाका लागि नेपाल भारत सीमा नाका सिल गरिएको छ । भारतसँग सीमा जोडिएका जिल्लाहरुमा गएराति १२ बजेदेखि ७२ घण्टाको लागि सीमा नाका बन्द गरिएको हो ।

निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न भारतसँग जोडिएका पूर्वदेखि पश्चिसम्मकै सीमावर्ती जिल्लामा नाका बन्द गरी सुरक्षा निगरानी बढाइएको हो ।

झापा, इलाम, सुनसरी, मोरङ, पर्सा, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहितका जिल्लाका सीमा नाका सिल गरिएको हो ।

नेपाल र भारतमा हुने गरेको निर्वाचनमा दुबै सीमावर्ती क्षेत्रका प्रशासनिक अधिकारीको आपसी छलफलमा सीमा नाका सिल गर्ने गरिएको छ । सोमवार राति १२ बजेदेखि मंसिर २१ गते राति १२ बजेसम्म सीमा बन्द गरिएको सम्बन्धित जिल्लाका सुरक्षा समितिले जनाएको छ ।

निर्वाचनका समयमा सीमा क्षेत्रबाट कुनै अप्रिय घटना नहोस् भनेर निर्वाचन अवधिभरका लागि नाका बन्द गरिएको समितिको भनाइ छ । सीमा नाका सिलसँगै चुनाव हुने जिल्लाहरुमा लागुऔषध नियन्त्रण र मदिरा बेचबिखनमा निषेध गरिएको छ ।

हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी जस्ता घटना हुन नदिन विशेष निगरानी बढाइएको सुरक्षा समितिले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org