ताजा समाचार

खेतीयोग्य जमिन आवासीय रुपमा उपयोग

दाङ, १९ मंसिर । खेतीयोग्य जमिनमा आवास बनेर उब्जनी कम हुन थालेकामा राजनीतिक नेतृत्वको ध्यान नगएको यहाँका किसानले गुनासो गरेका छन् । राप्ती नदीको किनारमा रहेको दाङ उपत्यकामा वर्षमा तीन बाली लाग्ने भए पनि विगत एक दशकअघि देखि आवासीय क्षेत्रका रुपमा विकास हुन थालेको हो । कम उब्जनी हुने स्थानमा बस्ती बसाएर बढी उब्जनी हुने उर्वर भूमिमा खेती गरिनुपर्नेमा सरकार एवम् राजनीतिक नेतृत्वको अदूरदर्शिताका कारण लुम्बिनी र राप्ती अञ्चलका अन्य जिल्लाबाट बसाइँ-सराइ गर्नेको भूमि बन्न पुगेको छ ।

स्थानीय किसान श्यामलाल चौधरी पाँच वर्षअघिसम्म कमाएको जग्गा साहुले बेचेपछि आफूले उब्जनी गर्ने ठाउँ नपाएको बताउनुहुन्छ । घर बनाउन चलेको भाउभन्दा बढी दिन आउनेलाई जग्गा बेचेर मोहियानी हक बापतको थोरै रकम बुझेर खेती गर्ने स्थानको अभावमा बस्नुपरेको उहाँको भनाइ छ ।

जिल्लामा यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । जोडिएका पहाडी जिल्लाका युवा कामका लागि विदेशिएपछि आएको विप्रेषणले परिवारले उब्जाउ हुने शहरी क्षेत्रमा जग्गा किनी आवास निर्माण गर्न थालेका छन् । सरकारको खेतीयोग्य जमिनसम्बन्धी नीति नहुँदा यो समस्या आएको अर्का किसान भोजेन्द्र डाँगी बताउनुहुन्छ । मार्क कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत रुपेश चौधरीले जनताको जीविकोपार्जनसँग सम्बन्धित यस विषयमा कुनै पनि दलका नेताले चुनावी मुद्दा नबनाएको दुखेसो पोख्नुभयो ।

तथ्यांक कार्यालय दाङको अभिलेखअनुसार कृषिका कारण १८/३१, व्यापारका कारण ३/५६, सेवाका कारण १/४२, अध्ययनका कारण ९/३४, विवाहका कारण २४/४८, निर्भरताका कारण २७/३९, द्वन्द्वका कारण १/४०, कारण उल्लेख नभएका ८/३२ र अन्य कारणले ५/८० प्रतिशत सर्वसाधारण यहाँ बसाइँ-सराइ गरिआएका छन् ।

जिल्लाको ग्रामीण क्षेत्रभन्दा उब्जनी हुने शहरी क्षेत्रमा बढी मानिसले टुक्रा जग्गा लिई आवास निर्माण गरेको कार्यालय प्रमुख तुलसीराम पोखरेलले बताउनुभयो । “तुलसीपुर उपमहानगरपालिकामा सल्यान र रुकुमका बासिन्दाको बाहुल्यता छ, घोराही उपमहानगरपालिकामा राप्ती र लुम्बिनी अञ्चलका प्राय: सबै जिल्लाका बासिन्दाको बसोबास बढेको छ, लमही नगरपालिकामा लुम्बिनी अञ्चलबाट बसाइँ-सराइ गरी आउनेको बाहुल्यता छ”, उहाँले भन्नुभयो । दाङबाहिर जन्मेका ४०/१७ प्रतिशत नागरिक १० वर्षभन्दा लामो समयदेखि बस्दै आएको कार्यालयले जनाएको छ । यसमा पुरुष ४१/७३ र महिला ३८/९४ प्रतिशत छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org