ताजा समाचार

आफ्नै श्रीमती उम्मेदवार हुँदा पनि भोट नहाल्ने श्रीमान मसालका महामन्त्री सिंह

काठमाडौं, २१ मंसिर । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह पत्नीलाई मतदान गर्न पनि गएका छैनन् । वाम गठबन्धनको तर्फबाट प्युठानमा उम्मेद्वार बनेकी उनकी पत्नीलाई मतदान गर्न नगएपछि यसलाई बडो आश्चर्यका रुपमा हेरिएको छ ।

लामो विवादपछि प्यूठानमा जनमोर्चाले माओवादी र एमालेको साथ पाएको थियो । सुरुमा मोहनविक्रम सिंह उम्मेदवार बने मात्रै समर्थन गर्ने अडान लिएका एमाले र माओवादीले अन्तिम समयमा सिंहकी श्रीमती दूर्गालाई समर्थन गरेका हुन् । श्रीमती नै उम्मेदवार भए पनि अर्धभूमिगत रहेका मोहनविक्रम सिंह श्रीमतीको लागि भोट माग्न प्यूठान गएका थिए ।

श्रीमतीलाई जिताउन कार्यकर्ता प्रशिक्षण र घरदैलो अभियानमा समेत लागेका सिंहले आफ्नै श्रीमतीलाई भने भोट दिन गएनन् । मतदानको दिन काठमाडौंको बनस्थलीमा रहेको निवासमा बसेर देशैभरीको चुनावी गतिविधि हेरिरहेको सिंहका सहयोगीले जानकारी दिए ।

‘उहाँले आफू नै उम्मेदवार हुँदा त मत हाल्नुभएन, अहिले म उठ्दा पनि उहाँ भोट हाल्न आउनुभएन’ सिंहकी श्रीमती दूर्गा पौडेलले भनिन् ‘उहाँले मेरो लागि चुनावी अभियानमा भाग लिनुभयो तर भोट चाहिँ हाल्नुभएन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org