ताजा समाचार

अमेरिकी पत्रिकाको टिप्पणीः ‘नेपालको चुनाव भारत र चीनबीचको लडाई’

काठमाडौं, २१ मंसिर । नेपालको निर्वाचनबारे अमेरिकाको प्रभावशाली दैनिक पत्रिका द वाशिङटन पोस्टले नराम्रो टिप्पणी गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको दौरान द वाशिङटन पोस्टले नराम्रो प्रभाव पार्ने गरी टिप्पणी गरेको हो ।

उक्त पत्रिकाको भारत संवाददाता विधि दोषीले बुधवार प्रकाशित गरेको उक्त टिप्पणीमा यस ऐतिहसिक निर्वाचनलाई छिमेकका दुई ठूला मुलुक भारत र चीनले चासो दिएर हेरिरहेको लेखिएको छ । दुवै देशले नेपालमा आफ्ना राष्ट्रिय साझेदारको जीतको अपेक्षा गरिरहेको उल्लेख गरेका छन् ।

‘चीनले एसियाभरि आफ्नो प्रभाव विस्तार गरिरहँदा नेपालमा पनि लगानी बढाइरहेको छ । यो घटनाक्रमले भारत चिन्तित भएको विश्लेषकहरू बताउँछन् । यस्तो अवस्थामा नेपालमा चुनाव भइरहेको छ,’ दोषी लेख्छिन् । ‘नेपाल एक छिमेकीसँग मात्रको निर्भरताबाट मुक्त भएको छ,’ वाम गठबन्धनका नेता खड्ग प्रसाद शर्मा ओलीले पोखरामा भएको निर्वाचन र्‍यालीमा उत्साहित भीडलाई सम्बोधन गर्दै भने ।

‘वाम गठबन्धनले नेपालमा चीनको शक्ति प्रयोग गरी भारतको प्रभुत्वलाई टक्कर दिन आह्वान गरेको छ,’ द वाशिङटन पोस्टको विश्लेषणमा उल्लेखित छ । ‘अर्कातर्फ प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत समर्थकका रूपमा हेरिन्छ र उनले भारतीय तथा चिनियाँ शक्तिलाई सन्तुलनमा राख्नुपर्ने बताउँदै आएका छन् ।’

चीनले नेपालमा प्रभाव विस्तार गर्दै गर्दा विश्लेषकहरूले भारतीय नेताहरू चिन्नित भएको विश्लेषण गरेका छन् । नेपालसँगको लामो र खुला सीमाका कारण भारतमा चिनियाँ सामानको निर्यातको मात्रा ह्वात्तै बढ्ने उनीहरूको चिन्ता हो । सीमालाई सुरक्षा दिँदा भारतको सैन्य स्रोतलाई भार पर्ने विधि दोषीको टिप्पणी छ ।

धेरै नेपालीका लागि छिमेकीबीचको टक्करले बिहीवार मत हाल्ने बेलाको निर्णयलाई प्रभावित पार्ने द वाशिङटन पोस्टको विश्लेषण छ । सुर्खेतबाट मतदान गर्ने उमेश गिरीलाई उद्धृत गर्दै द वाशिङटन पोस्ट लेख्छ, ‘हामीहरू भारतबाट बारम्बार प्रताडित छौं । त्यसैले फरक विदेशनीति अपनाउनु महत्त्वपूर्ण हुन्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org