ताजा समाचार

च्याउ व्यवसायबाट मनग्य आम्दानी

पाल्पा, २२ मंसिर । रामपुरका कृषक बलबहादुर राना च्याउ व्यवसायबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । रानालाई यतिबेला च्याउ बिक्री गर्न भ्याइनभ्याइ छ । अहिले च्याउको याम भएकाले रानाको दैनिकी च्याउ बिक्री गर्दैमा बित्ने गरेको छ । “बजारमा च्याउको माग बढ्न थालेपछि कसरी  पु¥याउने भन्ने चिन्ता छ, व्यवसाय विस्तार गरेको छु” उहाँले भन्नुभयो ।

यसवर्ष रु पाँच लाखदेखि रु ६ लाखसम्म च्याउ बिक्रीबाट आम्दानी गर्ने उहाँको लक्ष्य छ । चार वर्षसम्म विदेशमा बसेर स्वदेश फर्केलगत्तै रानाले व्यावसायिक रुपमा च्याउखेती गर्न थालेपछि उहाँले मनग्य आम्दानी गर्दैआउनुभएको छ । अहिले दैनिक ७० किलोसम्म च्याउ उत्पादन गरी पाल्पा, स्याङ्जा र तनहुँका विभिन्न स्थानीय बजारमा बिक्री गर्दै आएको कृषक रानाले बताउनुभयो । रानाले प्रतिकिलो रु दुई सयका दरले च्याउ बिक्री गर्दै आउनुभएको छ ।

च्याउ व्यवसायबाट रानाले दाम मात्र होइन जिल्लामै नमूना च्याउ व्यावसायिका रुपमा नाम कमाउनुभएको छ । एउटा बल्बबाट तीनदेखि चार पटकसम्म च्याउ टिप्न सकिने उहाँको भनाइ छ । “च्याउबाट यति धेरै आम्दानी हुन्छ भन्ने सोचेको थिइन, लक्ष्यभन्दा मनग्य आम्दानी हुन थालेपछि अब छिट्टै नै तीन हजार बल्बमा विस्तार गर्ने सोचमा छु” उहाँले भन्नुभयो ।

कम लगानी र परिश्रममा छोटो समयमा घरमै बसी /बसी मनग्य कमाइ गर्न सकिने भएपछि युवा विदेश नै धाउनु नपर्ने राना बताउनुहुन्छ । गाउँमै बसेर च्याउ व्यवसाय गरियो भने छोटो समयमा नै लखपति बन्न सकिने उहाँको भनाइ छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org