ताजा समाचार

काठमाडौंका २ क्षेत्रमा कांग्रेस विजयी, गगन थापासँग राजन र प्रकाशमानसँग रविन्द्र मिश्रलाई पराजित

काठमाडौं, २३ मंसिर । काठमाडौंमा मतगणनाको कार्य जारी रहेको छ । अहिलेसम्म २ क्षेत्रको मतपरिणाम सार्वजनिक भईसकेको छ । अन्य क्षेत्रको पनि मत गन्ने कार्य अन्तिमतिर पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ४ बाट कांग्रेसका प्रभावशाली नेता गगन थापा विजयी भएका छन् ।

शनिवार बिहान सम्पन्न मतगणनामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डा. राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले हराउँदै थापा विजयी भएका हुन् ।

थापा २१ हजार ५५८ ल्याएर काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका डा. राजन भट्टराईले १८ हजार १४० मत पाए । यस क्षेत्रबाट विवेकशील साझा पार्टीकी उम्मेदवार सुवुना बस्नेतले ३ हजार ४० पाइन् ।

काठमाडौं १ मा प्रकाशमान विजयीः
काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभामा विजयी भएका छन् । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् ।

सिंहले १० हजार ९ सय ३७ मत पाएका छन् । सिंहका निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार ११८ मत पाएर दोस्रो स्थान हासिल गरेका छन् । मिश्रले कांग्रेस नेता सिंहलाई सुरुदेखि नै पछ्याइरहे पनि जित्न सकेनन् । चुनाव जितेर मिश्रले आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउने रणनीति बनाएका थिए । वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने तेस्रो स्थानमा चित्त बुझाएका छन् । उनले ५ हजार ३३५ मत ल्याए ।

कांग्रेसको विजयी सुरुआत:

प्रकाशमान सिंहको जितसँगै प्रतिनिधिसभामा नेपाली कांग्रेसले जितको पहिलो खाता खोलेको छ । काठमाडौं १ बाटै कांग्रेसले विजयी सुरुआत गरेको हो । विगतमा दुईपटक संविधानसभामा जितेका सिंहले ह्याट्रिक गरेका छन् ।

कांग्रेसले देशव्यापीरुपमा पराजय व्यहोरिरहेको अवस्थामा सिंहको जितले उनलाई पार्टीभित्र बलियो पोजिसनमा पुर्‍याउने अनुमान गर्न सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org