ताजा समाचार

मोरङ ६ मा कोइराला खानदानको इतिहास ढल्यो, लालबाबु पण्डितसँग शेखर कोइराला पराजित

मोरङ, २३ मंसिर । मोरङ ६ मा नेकपा एमालेका प्रभावशाली नेता लालबाबु पण्डित विजयी भएका छन् । पण्डितको विजयीले कोइराला खानदानको मात्रै होइन नेपाली कांग्रेसकै लागि ऐतिहासिक मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसलाई ठूलो झट्का लागेको हो ।

कोइराला परिवारका प्रभावशाली नेता डा. शेखर कोइरालाले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पराजय ब्यहोरेका छन् । एमाले नेता लालबाबु पण्डितले उनलाई पराजित गरेका हुन् । लालबाबुले ६७५ मतान्तरको जित हासिल गरेका छन् । लालबाबुले ३३ हजार ९४१ र शेखरले ३३ हजार २६६ मत पाएका छन् ।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै सांसद पण्डितले मुलुक अव समृद्दिको बाटोमा अघि बढ्ने र देशले मुहार फेर्ने अपेक्षा व्यक्त गरे । साथै सबैलार्इ समेटेर आफ्नो क्षेत्रको विकास गर्ने उनले प्रतिबद्दता व्यक्त गरे ।

सर्लाहीमा जन्मेर मोरङलाई कर्मथलो बनाएका नेता पण्डित मजदुर एवं ट्रेड युनियन पृष्ठभूमिबाट एमालेको नीति निर्माण तहमा पुगेका नेता हुन् । विशेष गरी ०५१ साल र ०५६ सालको प्रतिनिधिसभाका सांसद रहेका पण्डित सामान्य प्रशासन मन्त्री बनेपछि ह्वात्तै चर्चामा आए ।

सामान्य प्रशासन मन्त्री भएका बेला भ्रष्टाचारको विरोध गर्नुका साथै डीभीरपीआर लिएका कर्मचारीलाई सरकारी सेवाबाट हटाउने अभियानका कारण उनी चर्चामा आएका थिए । उनकै कारण डीभी होल्डर सरकारी कर्मचारीले जागिर खान नपाउने कानूनी व्यवस्था भएको थियो । त्यसबेला देखि नेपालको निजामति प्रशासनमा धेरै सुधारका आशावादी किरण फैलिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org