ताजा समाचार

लगातार चार पटक पराजित भएका कृष्णगोपाल काठमाडौं ९ बाट विजयी

काठमाडौं, २३ मंसिर । लगातार चार पटक पराजित भएका एमाले नेता कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । काठमाडौं क्षेत्र नम्बर ९ बाट वाम गठबन्धनको तर्फकाट उम्मेदवार दिएका नेता श्रेष्ठ विजयी भएका हुन् । कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मत अन्तरले हराउँदै विजयी भएका हुन् ।

कृष्णगोपालले २२ हजार ८५२ मत पाउँदै विजयी हुँदा ध्यानगोविन्दले १४ हजार ८०२ मत पाएका छन् । कृष्णगोपाल र ध्यानगोविन्द चिरपरिचित प्रतिस्पर्धी हुन् । उनीहरुबीच काठमाडौं क्षेत्र नम्बर ७ मा ०५१ को चुनावमा भिडन्त भएको थियो जसमा कृष्णगोपालले बाजी मारेका थिए ।

तर ०५६ को चुनावमा कृष्णगोपाल ७ नम्बर क्षेत्रबाटै तिर्थराम डंगोलसँग पराजित भए । त्यसपछिका लगातार तीनवटा चुनावको परिणाम पनि कृष्णगोपालको पक्षमा आएन । ०६४ को पहिलो संविधानसभा र ०७० को दोस्रो संविधानसभा चुनावमा कांग्रेसका ध्यानगोविन्दले कृष्णगोपालसँग बदला लिए ।

त्यतिमात्रै होइन काठमाडौं क्षेत्रनम्बर २ मा भएको उपचुनावमा पनि कृष्णगोपाल हारेका थिए । दुई स्थानबाट विजयी एमाले नेता माधव नेपालले काठमाडौं २ छाडेपछि भएको उपचुनावमा कृष्णगोपाल उम्मेदवार थिए । उपचुनावमा उनी कांग्रेसका दिपक कुइँकेलसँग पराजित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org