ताजा समाचार

अब कहिल्यै चुनाव लड्दिन : बलबहादुर केसी


सल्लेरी, सोलुखुम्बु, २४ मंसिर । नेपाली काग्रेंसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले भविष्यमा कुनै निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ । यस वर्षको प्रतिनिधिसभा सदस्यको निर्वाचन नै आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य उम्मेदवार केसीले बताउनुभयो । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “अब म पार्टीको सुदृढीकरणका लागि लागिपर्छु । ” नेता केसीले पार्टीका उम्मेदवारहरुले पराजय भोग्नु परे पनि जनताको विचारलाई आफूहरुले जित्न सफल भएको जिकिर गर्दै मतदातालाई धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसले चुवाव हारे पनि जिल्लाको विकास र जिल्लालाई समृृद्धितर्फ लाने विषयम काँग्रेसको सदैव साथ र सहयोग रहने उहाँले बताउनुभयो । विसं २०४८ यता सम्पन्न निर्वाचनमा चार पटक जित्नुभएका केसीको यो दोस्रो हार हो । विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी का गोपाल किराँतीसँग पराजय हुनुभएका केसी यस पटक नेकपा माओवादी केन्द्रकै हेमकुमार राईदेखि पराजय हुनुभएको छ ।

आफ्नो चुनावी समीक्षामा पार्टी पराजित हुनाको प्रमुख कारण गुटगत राजनीति भएको काँग्रेसले निष्कर्ष निकालेको छ । नेता केसीले जिल्लामा काँग्रेस सबै एक भएर नलाग्नाले तीनै स्थानमा पराजय व्यहोर्नुपरेको बताउनुभयो । काँग्रेसका तर्फबाट प्रदेशसभा क मा उम्मेदवार प्रकाशसिंह कार्कीले मतदाताले रुचाउँदा रुचाउँदै पनि संगठनको कमजोरीका कारण पराजय भोग्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले हामीलाई चाहेकै हुन् तर संगठन निर्माण गर्नेको कमजोरी भयो ।” प्रदेशसभा ख का उम्मेदवार आङगेलु शेर्पाले पनि पार्टी एक हुन नसक्दा जनताले चाहेर पनि काँग्रेसले हार बेहोर्नु परेको बताउँदै पार्टी र संगठनभित्र कमजोरीको समीक्षा गरेर अगाडि बढ्ने जानकारी दिनुभयो ।

पूर्वपार्टी सभापतिसमेत रहनुभएका शेर्पाले पार्टीमा विगतदेखिको समस्या सुल्झाउनु नसक्नु नै पराजयको प्रमुख कारण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अबको पाँच वर्षमा पार्टी सुदृढीकरण गरेर बहुमतले विजयी हुने गरी काँग्रेसले काम गर्नुपर्छ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org