ताजा समाचार

प्रत्यक्षतर्फको मतगणना सम्पन्न, विजय गच्छदार बने अन्तिम सांसद, भगवती चौधरी पराजित

काठमाडौं, २७ मंसिर । मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सकिएको छ । प्रत्यक्षतर्फको सकिएको मतगणनामा नेकपा एमाले पहिलो दल बनेको छ । एमालेसँग तालमेल गरेर चुनाव लडेको माओवादी केन्द्र दोस्रो दल बनेको छ ।

स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस तेस्रो स्थानमा झरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम गणनामा नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन् । सुनसरी क्षेत्र नम्बर ३ बाट गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

एमालेकी भगवती चौधरी

शुरुदेखि नै कायम रहेको एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले ३२१ मतको अन्तरमा जित निकालेका हुन् । गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धीमा रहेकी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् ।

भगवती चौधरीको यो दोस्रो दुर्भाग्य हो । यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि चौधरी गच्छदारसँगै डेढ सय मतान्तरमा पराजित भएकी थिइन् । यसपटक मतगणनामा आफूले अग्रता लिइरहँदा गच्छदारले प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतसँग सेटिङ मिलाएर मुचुल्का बिनाका मतपत्र निकालेको आरोप लगाएकी थिइन् । उनले त्यसपछि मतगणना नै बहिस्कार गरेकी थिईन् ।

बिजय गच्छदारको राजनीतिक जीवनमा यो छैटौं अपराजित यात्रा हो । २०४८ देखि उनले कुनै पनि चुनाव हारेका छैनन् । योसँगै प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org