ताजा समाचार

प्रदेश नम्बर ३ को राजधानी भक्तपुर बनाउने एमाले सांसद्हरुको प्रतिबद्धता

 

नगरकोट, २७ मंसिर । भक्तपुरबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित हुनुभएका नेकपा एमालेका सांसदहरुले भक्तपुरमा प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । रफ्त सञ्चार क्लबले गरेको साक्षात्कार कार्यक्रममा उहाँहरुले भक्तपुर ३ नं प्रदेशका केन्द्र पर्ने र यहाँ पर्याप्त सार्वजनिक स्थल भएकाले भक्तपुरमा प्रदेशसभाको राजधानी निर्माणको पहल गर्ने दाबी गरेका हुन् ।

भक्तपुर २ नं को प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएका महेश बस्नेतले भक्तपुरको सानोथिमी क्षेत्र, सल्लाघारीको ९९ रोपनी जमिन, जगातीको इँट्टा, टायल कारखानालगायतका क्षेत्रमा ३ नं प्रदेशको राजधानी निर्माण गर्न उपयुक्त स्थान भएको बताउनुभयो ।भक्तपुरलाई ३ नं प्रदेशको अस्थायी राजधानी तोक्नका लागि आफू निर्वाचित भएपछि मुख्यसचिव र सम्बन्धित मन्त्रालयका सचिवसँग कुरा गरिसकेकाले अब भक्तपुरमा नै अस्थायी राजधानी हुने बताउनुभयो ।

भक्तपुर २ नं निर्वाचन क्षेत्र प्रदेशसभा ‘क’ बाट निर्वाचित शशीजंग थापाले अब भक्तपुर नै ३ नं प्रदेशको राजधानी हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो । भक्तपुर शान्त, सुन्दर हुनुका साथै पर्याप्त सार्वजनिक स्थान भएकाले यहाँ नै प्रदेशसभाका राजधानी हुने थापाको भनाइ छ । त्यस्तै भक्तपुर २ नं निर्वाचन क्षेत्र प्रदेशसभा ‘ख’ बाट निर्वाचित राजेन्द्रमान श्रेष्ठले बोडेको कृषि विकास तालीम केन्द्र र सानो थिमीस्थित शिक्षा विभागको क्षेत्रका र खरिपाटीको विद्युत् प्राधिकरणको तालीम केन्द्रमा ३ नं प्रदेशका कार्यालयहरु राख्न सकिने बताउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org