ताजा समाचार

प्रदेश ७ को मुख्यमन्त्री र राजधानी एमालेसँग छलफल गरेर टुंगाउछौंः लेखराज भट्ट

धनगढी, २७ मंसिर । कैलाली निर्वाचन क्षेत्र नम्बर-४ बाट विजयी माओवादी केन्द्रका सांसद लेखराज भट्टले मुख्यमन्त्रीको विषयमा एमालेसँग सहमति नभएको बताएका छन् । मतदातालाई धन्यवाद दिन आफ्नै निवासमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले मुख्यमन्त्री र प्रदेश ७ को राजधानीका विषयमा एमालेसँग छलफल गरेर मात्रै टुंगो लगाईने बताए ।

उनले प्रदेश राजधानीको लागि अत्तरियालाई उपयुक्त ठानेका छन् । सात नम्बर प्रदेशको राजधानी डोटी कि धनगढी भन्ने विवाद भइरहेका बेला नेता भट्टले अत्तरिया उपयुक्त हुने बिकल्प अघि सारेका हुन् । माओवादी केन्द्रका प्रदेश नम्बर ७ का ईन्चार्ज समेत रहेका भट्टले एमालेसँग छलफल गरि मुख्यमन्त्री र प्रदेश राजधानीको टुंगो लगाउने बताएका हुन् ।

उनले वर्तमान काम चलाउ सरकारले प्रदेश प्रमुख नियुक्त गर्न लागेकोमा विरोध समेत जनाए । बाम गठबन्धनको दुई तिहाईको सरकार बन्ने निश्चित भइसकेका बेला काम चलाउ सरकारले दुरगामी किसिमका निर्णय गर्न नहुने कुरामा जोड दिए । नेता भट्टले तत्काल गर्नुपरे पनि राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्नुपर्ने धारणा व्यक्त गरे ।

आफुलाई मतदान गरी विजयी गराउने सबै मतदातालाई आभार तथा धन्यवाद ज्ञापन समेत गरेका छन् । उनले चुनावका बेला मतदातामाझ गरेका बाचा क्रमशः पूरा गर्दै जाने बताए । नेता भट्टले तत्काल गर्न सकिने योजना तत्काल गर्ने र तत्काल गर्न नसकिनेलाई मध्यकालीन र दिर्घकालीन योजना बनाएर पूरा गर्न आफू सदैव लागिपर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org