ताजा समाचार

म्यादी प्रहरीको तलब भत्ता प्रहरीले कुम्ल्याउन खोज्दा आन्दोलन, वीरगञ्जमा चक्काजाम

वीरगञ्ज, २८ मंसिर । राज्यले तोकेको भन्दा कम सेवासुविधा दिएको भन्दै म्यादी प्रहरीहरु आन्दोलित भएका छन् । प्रदेश तथा प्रतिनीधि सभा निर्वाचनका लागि पर्सामा खटिएका म्यादी प्रहरीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बिहिबार वीरगञ्जमा चक्काजाम गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले राज्यले तोकेको भन्दा कम सेवा सुविधा दिन लागेको भन्दै आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाई छ ।

उनीहरुले जिल्ला प्रहरीमा गएर गुनासो गर्दा कुनै सुनुवाई नभएको भन्दै घण्टाघर चोकमा चक्का जाम गरेका हुन् । पहिलो चरणमा खटिएका म्यादी प्रहरीहरुलाई ६२ हजार दिएको भएपनि पर्सामा ४८ हजार मात्रै दिन लागेको आरोप उनीहरुको आरोप छ । पहिलो चरणको चुनावमा वितरण भए अनुसारकै पारिश्रमिक आफूहरुले पनि पाउनुपर्ने माग उनीहरुको छ ।

पहिलो चरणमा खटिएका म्यादी प्रहरीहरुलाई भन्दा कम पारिश्रमिक दिन लागेपछि विरोध जनाएको म्यादी प्रहरी राम मण्डलले जानकारी दिए । ‘हामीलाई कम पारिश्रमिक दिने कुरा भएपछि हामीले विरोध जनाएका थियौं । प्रहरीले उल्टै लाठि चार्ज गरेर हामीलाई लखेटेपछि चक्काजाम गर्न बाध्य भयौं’ उनले भने ।

५५ दिनका लागि खटाईने उनीहरुले २० दिन काम गरे वापत पहिलो किस्ता २४ हजार पाईसकेका छन् भने अब ३५ दिन खटेको रकम पाउन बाँकी छ । कात्तिक ३ गतेबाट खटेको भएपनि नियुक्तीपत्र कात्तिक १२ गतेदेखि मात्रै रहेको म्यादी प्रहरीहरुको गुनासो छ ।

पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले भने म्यादी प्रहरीहरुले नबुझेका कारण समस्या सृजना भएको बताए । ‘कुनै एउटा अनलाइनले लेखेको गलत समाचारको आधारमा उनीहरुले हल्ला गरेका छन्’ उनले भने, ‘राशन भत्ताका कारण हिमाली, पहाडी र तराईका जिल्लामा रकम केहि तलमाथी हुन्छ, राज्यले तोकको पारिश्रमिक सिधै उनीहरुको खातामा जान्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org