ताजा समाचार

यी हुन्, सात प्रदेशका मुख्यमन्त्री पदका आकांक्षी, कसको भाग्य बलियो ?

काठमाडौं, २ पुष । प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएसँगै नयाँ सरकार गठनको जोड घटाउँ सुरु भएको छ । प्रदेश र केन्द्र दुवैमा बन्ने नयाँ सरकारका विषयमा दलहरु आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचनको परिणामसँगै दलहरु नयाँ सरकार गठनको खाका र समीकरण निर्माणमा जुटेका छन् । अधिकार सम्पन्न प्रदेशको मुख्यमन्त्री को बन्छ ? धेरैलाई चासोको विषय समेत छ।

सात वटा प्रदेशमध्ये २ नम्बर प्रदेशमा राजपा र संघीय समाजवादी फोरम नेतृत्वमा सरकार गठन हुने पक्का पक्की छ । किन की उनीहरुको स्पष्ट बहुमत छ । त्यो बाहेकका प्रदेशमा भने एमाले र माओवादी केन्द्रको बहुमत छ । चुनावी परिणामले प्रदेश १ र ३ मा एमालेलाई एकल बहुमत दिएको छ। अन्य कुनै पनि प्रदेशमा एकमात्र दलको बहुमत छैन्। गठबन्धन सरकार नै ती प्रदेशका विकल्प हुन्। प्रदेश ६ मा एमाले बिना सरकार गठन हुन नसक्ने अवस्था छ। अन्य प्रदेशमा भने सवै विकल्प खुला छन्।

प्रदेश सरकार गठनसँगै मुख्यमन्त्रीको पनि चर्चा परिचर्चा सुरु भएको छ । प्रदेशको मुख्यमन्त्रीको सम्भावित दावेदार बनेर कतिपय हेभिवेट नेताहरु प्रदेशसभा सदस्य निर्वाचनमा होमिएका थिए। कतिपय नवप्रवेशीले पनि प्रदेशको मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन्। दलीय गठबन्धनका दौरान नै कतिपय प्रदेशमा मुख्यमन्त्रीका रुपमा प्रस्तावित उम्मेदवार चुनावमा विजयी भएका छन्।

प्रदेश १ मा एमालेले मुख्यमन्त्री पाउने सम्भावनाः
प्रदेश १ बाट वाम गठबन्धनबाट एमालेले मुख्यमन्त्री पाउने करिव सहमति जस्तै छ। जहाँ पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई र पूर्व पर्यटनमन्त्री समेत रहेका एमाले सचिव भीम आचार्य आकांक्षी छन्। मुख्यमन्त्रीको दावीसहित दुवै नेता प्रदेशसभामा चुनाव लडेका हुन्। एमालेको आन्तरिम समीकरण र पछिल्ला राजनीतिक घटनाक्रमले आचार्यभन्दा राई मुख्यमन्त्रीका बलिया उम्मेदवार हुन्।

२ नम्बर प्रदेशमा राजपा र फोरमको गठबन्धन सरकारः
प्रदेश २ मा राजपा फोरम गठबन्धनले अन्य दलको सिट सहयोगले मात्र सरकार बनाउन सक्छन्। अन्य दलबाट सरकार बनाउन पनि गठबन्धनकै दलको सहायता आवश्यक पर्छ। गठबन्धनबाट अहिलेसम्म फोरमका विजय यादव र लालबाबु राउतको नाम मुख्यमन्त्रीका रुपमा चर्चामा छ।

प्रदेश ३ मा एमालेकै ६ जनाको दावीः
प्रदेश ३ को मुख्यमन्त्रीमा एमालेबा मात्रै ६ जनाको दावी छ। एमालेबाट राजेन्द्र पाण्डे, पशुपति चौलागाईँ, अरुण नेपाल, कैलाश ढुङ्गेल, अष्टलक्ष्मी शाक्यदेखि केशव स्थापितसम्मले मुख्यमन्त्री दावी गरेका छन्। तर, दुई पटक ‘मन्त्री’को अफर छाडेकी अष्टलक्ष्मी शाक्यको सम्भावना सवैभन्दा बलियो रहेको बुझिन्छ।

प्रदेश ४ मा एमाले माओवादी दुवैको दावीः
स्पष्ट बहुमत नभएका कारण प्रदेश ४ मा एमाले र माओवादी केन्द्र दुवैको मुख्यमन्त्रीमा दावी छ। एमालेबाट पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले मुख्यमन्त्रीमा दावी गरेका छन्। माओवादी केन्द्रबाट प्रदेश ४ मा मुख्यमन्त्रीको दावी भएको छ। कास्कीका सह–इञ्चार्ज समेत रहेका दीपक कोइरालाले मुख्यमन्त्रीको दावी गरेका छन्। तर, प्रदेश ४ को मुख्यमन्त्रीमा एमालेकै दुई नेतामध्ये एकको सम्भावना छ।

प्रदेश ५ मा शंकर पोखरेल लगभग पक्कापक्कीः
प्रदेश ५ मा वाम गठबन्धनभित्र शंकर पोखरेल मुख्यमन्त्रीमा पहिलो दावेदार हुन्। कृष्णबहादुर महरासँग टिकटमा विवाद भएपछि दाङ २ को प्रदेशसभा राजेका एमाले नेता पोखरेल प्रदेश ५ का करिव निर्विकल्प मुख्यमन्त्रीका उम्मेदवार हुन्। महरालाई दाङ २ मा प्रतिनिधिसभातर्फ टिकट दिँदा पोखरेललाई मुख्यमन्त्री बनाउने आश्वासन गठबन्धनले दिइसकेको छ।

प्रदेश ६ मा माओवादीले मुख्यमन्त्री पाउन सक्नेः
प्रदेश ६ मा मुख्यमन्त्री माओवादीले पाउने गठबन्धनको आन्तरिक सहमति छ। जहाँ माओवादीका तर्फबाट कालिकोटका महेन्द्रबहादुर शाही र जुम्लाका नरेश भण्डारी मुख्य आकांक्षी छन्। सल्यानमा प्रतिनिधिसभामा टिकट दावी गरेका एमालेका प्रकाश ज्वाला र सुर्खेतका यामलाल कँडेलले पनि मुख्यमन्त्रीको दावी भने यथावत नै राखेका छन्।

प्रदेश ७ मा धेरैको चर्चाः
प्रदेश ७ मा भने मुख्यमन्त्रीको चर्चा धेरैको छ। बाजुराबाट संविधानसभा सदस्य भइसकेका कर्णबहादुर थापादेखि कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङ, कैलालीका पार्टी अध्यक्ष समेत रहेका दीर्घ सोडारी र बाजुराका प्रकाश शाह प्रत्याशी छन्। सवै प्रदेशको प्रत्यक्षमा विजयी भएका छन्। कर्णबहादुर थापा भने समानुपातिक उम्मेदवार छन्। माओवादीले मुख्यमन्त्री पाएको अवस्थामा कैलाली ३ को प्रदेशसभामा निर्वाचित बीरमान चौधरीको चर्चा छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org