ताजा समाचार

समानुपातिकमा एमालेले तीन जना मात्रै पुरुष सांसद् पाउने, अन्य पार्टीको के छ अवस्था

काठमाडौं, ३ पुस । नेकपा एमालेले समानुपातितर्फ ३ जना मात्रै पुरुष सांसद् पाउने भएको छ । मंसिर १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेबाट समानुपातिकबाट बढी ३ जना मात्रै पुरुष सांसद चुनिने भएका हुन् ।

प्रत्यक्षमा ८० सिट जितेको एमालेबाट दुईजना मात्रै माहिलाले जितेका छन् । समानुपातिकतर्फ एमालेले ४१ सीट पाउने अवस्था छ । कम्तिमा ३३ प्रतिशत महिलालाई अनिवार्य प्रतिनिधिसभामा पठाउनुपर्ने संसदीय व्यवस्था अनुसार एमालेबाट समानुपातिकबाट सांसद बन्न पाउने पुरुषकको संख्या थोरै हुन पुगेको हो ।

एमालेले जितेका जम्मा १२१ सिटको ३३ प्रतिशत ४० हुन आउँछ । प्रतिनिधि सभामा एमालेले अनिवार्य ४० जना महिला सांसद बनाउनुपर्छ । २ जनाले प्रत्यक्षमा जितेकाले ३८ जना महिला समानुपातिकबाट सांसद बन्ने छन् ।

समानुपातिकबाट एमालेले ३ जना पुरुषलाई मात्रै प्रतिनिधि सभामा पठाउने सक्ने भएको छ । प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्द सूचीको पहिलो नम्बरमा बिजय सुब्बाको नाम छ ।

दोस्रो नम्बरमा खगेन्द्र राई र तेस्रो नम्बर केशवलाल श्रेष्ठको नाम छ । उता खसआर्य समूहबाट एक नम्बरमा मुकुन्द न्यौपाने र दुई नम्बरमा सोमनाथ प्यासीको नाम छ । यीनै ५ मध्ये तीनजनाले समानुपातिकबाट सांसद बन्न पाउनेछन् ।

कांग्रेसमा भने १९ जना पुरुषले पाउनेः
दोस्रो ठुलो नेपाली कांग्रेसले २१ जना महिलालाई प्रतिनिधि सभामा पठाउनुपर्छ । कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्रै जितेको छ । तर समानुपातिक मत धेरै आएकाले त्यसका आधारमा ४० सिट पाउने सम्भावना छ । कुल ६३ जना प्रतिनिधि सभा सदस्यमध्ये १९ पुरुषलाई कांग्रेसले समानुपातिकबाट पठाउने सक्नेछ । कांग्रेसबाट एकजना महिलाले पनि प्रत्यक्षबाट जित्न सकेनन् ।

माओवादीबाट २ जना मात्रै पुरुषः
तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रबाट कम्तिमा १७ जना महिला सांसद चुनिने भएका छन् । प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट गरी ५३ सिट जितेको माओवादीबाट प्रत्यक्षमा दुई महिला निर्वाचित भएका छन् । यो अवस्थामा माओवादी केन्द्रले १५ जना महिलालाई समानुपातिकबाट अनिवार्य प्रतिनिधि सभामा पठाउनु पर्ने हुन्छ ।

१७ सिट समानुपातिकबाट पाउने देखिएको माओवादीका दुई पुरुषले मात्रै समानुपातिकबाट संसदमा प्रवेश पाउने अवस्था छ । माओवादीबाट हितराज पाण्डे, सुनिल मानन्धर, मणिचन्द्र थापा र सुरेश आलेमगरमध्ये दुईजना सांसद हुने सम्भावना छ ।

राजपा र फोरमबाट बढीमा १/१ पुरुष
मधेसवादी दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले ५÷५ महिला अनिवार्य प्रतिनिधि सभा पठाउनुपर्ने छ । राजपाले प्रत्यक्षतर्फ ११ सिट जितेको छ भने समानुपातिकमा ६ सिट पाउने देखिन्छ । त्यस्तै १० सिट प्रत्यक्षमा जितेको फोरमले पनि ६ सिट नै समानुपातिकबाट पाउने सम्भावना छ । राजपा र फोरमले बढीमा एक मात्रै पुरुष समानुपातिकबाट पाउने छन् । दुवै पार्टीबाट एकजना पनि महिलाले प्रत्यक्षमा जितेका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org